काठमाडौं । यही नोभेम्बर २० (मङ्सिर ४) देखि कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ का लागि पोर्चुगले टोली घोषणा गरेको छ ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा बिहीबार २६ सदस्यीय टोली घोषणा भएको हो।
पाँच पटक विश्वकप खेल्ने टिममा क्रिस्टियानो रोनाल्डो परेका छन् । यस्तै वेनफिकाका १९ वर्षीय डिफेण्डर एन्टोनिओ शिल्भा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटसँग संघर्ष गरिरहेका भेट्रान फरवार्ड पेपे पनि टिममा छन् ।
जाओ माउटिन्हो, जोस फोन्टे र रेनाटो सान्चेज जस्ता खेलाडी टिममा अटाएनन् । डिएगो जोटा, पेड्रो नेटा भने चोटका कारण यसअघि नै विश्वकप होडबाट बाहिरिसकेका छन् ।
नोभेम्बर २० मा सुरु हुने कतार विश्वकपमा पोर्चुगल समूह एचमा रहेको छ। यो समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन्। पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ।
पोर्चुगल छनोट टिम:
गोलकिपरः डिएगो कोस्टा, जोस सा, रुई प्याट्रिसिओ
डिफेण्डरः डिएगो डालोट, जाओ कान्सेलो, एन्टोनिओ शिल्भा, डानिलो, पेपे, रुबेन डियास, नुनो मेन्डेज, राफेल गुरेइरा
मिडफिल्डरः जाओ पाल्हिन्हा, रुबेन नेभेस, बर्नार्डो शिल्भा, ब्रुनो फर्नान्डेज, जाओ मारिनो, माथ्युज नुनेज, ओटाभिहो, भिटिन्हा, विलियम कार्भाल्हो
फरवार्डः आन्द्रे शिल्भा, क्रिस्टियानो रोनाल्डो, गोन्कालो रामोस, जाओ फेलिक्स, राफाएल लिएओ, रिकार्डो होर्ता