काठमाडौं । यात्रु बाहक विमान आकाशमै उडाइरहेको समयमा बिना अनुमति ककपिटबाट नै अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडान भर्न रोक लगाइएको छ ।
ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेध गरिएको हुन्छ तर विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेको समयमा ककपिटबाटै बरिष्ठ पाइलट लामाले भिडियो अन्तर्वार्ता दिएपछि उनको नाम उडानको रोष्टरबाट हटाइएको हो ।
भ्लगर साम चुईले दुबईबाट काठमाडौं आउने क्रममा विमान चालक लामा र कोपाइलट सञ्जयलगायतसँग कुराकानी गरेका थिए ।
प्राधिकरणले उडान सुरक्षालाई ध्यानमा राख्दै यस्ता अन्तर्वाता प्रतिबन्ध गरेको छ । भिडियो वा तस्वीर खिच्नु परेमा स्पष्ट कारण खुलाएर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने हुन्छ ।
तर, लामाले बिना अनुमति एभिएसन भ्लगर साम चुईलाई भिडियो अन्तर्वार्ता दिएपछि उनलाई उडानमा रोक लगाइएको हो । अब छानविन प्रतिवेदन नआएसम्म उनले उडान भर्न पाउने छैनन् ।
भ्लगर साम चुईले नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका भिडियो पनि सार्वजनिक गरेका छन् ।