काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झनै गम्भीर हुँदै गएको छ। लामो समयदेखि बिरामी रहेकी सीता दाहालको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्र डिस्चार्ज भएकी उनलाई पुनस्स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्यस्थिति बुझ्नको लागि छोरीहरू रेनु, गंगा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायत अस्पताल गएका छन् । पारिवारिक स्रोतका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखेर उपचार गराइएको हो । सीताको शरीरले बेला बेला श्वासप्रश्वास गर्न नसक्ने भएपछि अक्सिजन दिइएको हो । उनको अक्सिजन लेबल निकै कम रहेको छ।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीताको एक मात्र छोरा प्रकाश दाहालको २०७४ मंसिरमा निधनपछि उनको स्वास्थ्य बिग्रिदै गएको हो ।