काठमाडौँ। गत असोज ३० मा दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा एक १४ वर्षीय किशोर र १५ वर्षीय किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । दाङका एसपी वीरबहादुर ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।
शरद र रोशनी एउटै स्कुलमा पढ्थे । दमारगाउको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा प्रेममा रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । मृतक असोज २७ बाट हराएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको शवको पोस्टमार्टमको रिपोर्ट भने आएको छैन ।