काठमाडौँ। सोमबारदेखि खुलेको सेयर बजार लगातार बढ्दै गएको थियो तर सेयर बजारको परिसूचक नेप्से आज बिहीबार भने घटेको छ। लगातार पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको थियो। आज परिसूचक नेप्से १६.१४ अंकले घटेर १९२२ अंकमा बन्द भएको छ । बिहीबार परिसूचक मात्रै नभई कारोबार रकम पनि खुम्चिएको छ। बुधबार १ अर्ब ४६ करोडको कारोबार भएकोमा बिहीबार जम्मा ८९ करोड ८९ लाखको कारोबार भएको छ।
कुल १५३ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ५ को स्थिर रह्यो । जीवन बीमा १ र निर्जीवन बीमा ०.६ अंक बढे भने अरु सबै उपसमूह घटे । बैंकिङ ११, विकास बैंक ४१, फाइनान्स १९, होटल तथा पर्यटन २०, जलविद्युत् २७, उत्पादन १३, माइक्रोफाइनान्स ४७, अन्य १७ र व्यापार उपसमूह १९ अंक घटे ।
यस्तै, आज युनिलिभरको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत बढेर प्रतिकित्ता १९ हजार ५ सय कायम भयो । कम्पनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने घोषणा गरेपछि मूल्य बढेको हो ।
आज कारोबार रकमका आधारमा भने एभरेस्ट बैंक, गरिमा विकास बैंक संस्थापक, अरुण काबेली, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।