काठमाडौँ। एक भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाइदिएका कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष फते मोहम्मद मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७८ माघ १२ गते भारतीय नागरिक मोहम्मद अमिर फकिरले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरा स्थायी ठेगाना राखी नेपाली नागरिकता लिएका थिए । उनलाई नागरिकता दिलाउन तत्कालीन वडाअध्यक्ष फते मोहम्मद मुसलमानले सिफारिस गरेका थिए ।
पक्राउ परेका पूर्व वडाअध्यक्ष फते मोहम्मदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिका वडानम्बर ४ को वडाअध्यक्षको निर्वाचन जितेका थिए । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्षका उम्मेदवार रहेका उनी निर्वाचनमा पराजित भएका थिए ।
नागरिकता पाएका फकिरले तत्कालै द्रुत सेवाको राहदानी लिएका थिए । नेपाली नागरिकता र राहदानी पाएका उनले बैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा अध्यागमन कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन साताअघि नियन्त्रणमा लिएको खुल्न आएको छ ।
भारतीय नागरिकले नागरिकता र सोही आधारमा राहदानी जारी गरी वैदेशिक रोजगारीमा जाने तयारी गरेको जानकारी पाएपछि स्थानीय प्रशासनले अध्यागमनलाई पत्राचार गरेको थियो । सोही आधारमा अध्यागमनले उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
यस्तै भारतीय नागरिकलाई गलत विवरणअनुसार सिफारिस गरी नागरिकता बनाउन सहयोग गरेका पूर्व वडाअध्यक्ष फते मोहम्मदलाई नियन्त्रणमा लिई नेपाल नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धानका लागि कपिलवस्तु अदालतबाट ३ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।