काठमाडौं । एक नाबालिगमाथि पटक-पटक बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि आज सुनुवाइको क्रम सुरु भएको थियो तर आज बयान नसकिएकाले थुनछेक बहस हुन सकेन । लामिछानेमाथि दायर भएको बलात्कार मुद्दामा बयान जारी रहेको छ भने उक्त विषयमा थुनछेक बहस भोलि मात्र सुरु हुने भएको छ ।
उनको मुद्दाको पेसी मंगलबार जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा तोकिएको थियो ।
अदालत स्रोतका अनुसार बहस सकिएपछि उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारेखमा छोड्नेबारे अदालतले भोलि निर्णय लिने छ ।
नाबालिका बलात्कार आरोपमा लामिछाने गत २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध नाबालिकाले ५ भदौमा प्रहरीमा उजुरी दिएकी थिइन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध अभियोगपत्र दायर गरेको थियो । उक्त अभियोगपत्रमा सन्दीपमाथि १२ वर्षसम्मको जेल सजाय माग गरिएको छ । तर सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।