काठमाडौं । एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज (सोमबार) मुद्दा दर्ता गराएको छ। उक्त आरोपमा आज अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति दुवैमा रोक्का गर्न माग समेत गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईजी एसिया बैंकमा रहेको खातामा रहेको रकम र उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ मात्र रहेको बताए ।
जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैंक खाता र जग्गा रोक्का गर्ने चलन रहेको उनले बताए।
एक जना १७ वर्षीया बालिकाले काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।
यस्तै, अभियोग पत्र सोमबार भए पनि बयान र थुनछेकको बहसको काम मङ्गलवारबाट मात्र सुरु हुने छ।