Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म जुलुस र आमसभा गर्न पाउने


    सोमबार, कार्तिक १४ २०७९
    770
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अन्तर्गत विभिन्न राजनीतिक दलहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन गर्न पाउने स्पष्ट भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो

    ‘मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सो बमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी स्पष्ट  गरेको छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

    उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

    ‘आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ,’ निर्वाचान अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

    विभिन्न दल वा उम्मेदवारले कुनै पनि जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वोटा राष्ट्रिय झण्डा प्रयोग गर्न सक्ने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्राबधानहरु आचारसंहितामा रहेको छ।

    यस्तै आयोगले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवारसंग पटक-पटक  आग्रह समेत गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार