काठमाडौं।एक जना नाबालिगमाथि पटक पटक बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध भोलि सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
‘फाइल तयार गर्दैछौं। भोलि मुद्दा दर्ता हुन्छ,’ कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।
यस्तै पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भन्दै मागदाबी गरेको परिसर स्रोतले जनाएको छ ।
प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए।
लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको स्रोतले जनाएको छ ।
भदौ ५ गते लामिछानेमाथि काठमाडौंको एक होटलमा एक १७ वर्षीय नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोपका साथै काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।