काठमाडौँ । आइतबार बिहान करिब ५ः४० को समयमा नेपालगञ्जको चुरा गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आगलागीबाट ठूलो क्षति समेत पुगेको प्रहरीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार नेपालगञ्ज–५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मो आरिफ अन्सारीको चुराको गोदाममा एक्कासि आगलागी भएको थियो ।
सो घरमा आगलागी हुँदा गम्भीर घाइते भएर उपचारका लागि भेरी अस्पताल पुर्याइएका बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समीर वलीको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जनाए।
आगलागीमा घाइते भएका गोदामका सञ्चालक आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार भएर खतरामुक्त रहेको अधिकारीले बताए।
प्रहरीका अनुसार सबै चुरा जलेर नष्ट हुनाको साथै विस्फोट हुँदा धेरै क्षति भएको छ ।