काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् तिहार बिदा अघिको सेयर कारोबार दिन आज (आइतबार) परिसूचक नेप्से १४.३५ अंकले बढेको छ । दसैंपछि नियमित ओरालो लागेको सेयर बजार यसदिन १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा कायम भएको छ ।
आज कारोबार रकम भने बढ्न सकेन । २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँमा खरिदबिक्री भयो। दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो।
यस्तै, १३५ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ८ को स्थिर रह्यो ।
बैंकिङ ११, विकास बैंक ३३, फाइनान्स ४, जलविद्युत् १८, जीवन बीमा ३९, उत्पादन १०, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ९०, अन्य ११ र व्यापार उपसमूह ४ अंक बढे । होटल तथा पर्यटन उपसमूह १९ अंक घट्यो ।
रुरु र सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो, जनउत्थान सामुदायिक लघुवित्तको ४ प्रतिशत बढ्यो । अभियान लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एभरेस्ट बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक (संस्थापक) र गरिमा विकास बैंक क्रमश: अगाडि रहे ।
यसैगरी आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि मात्र खुल्नेछ ।