काठमाडौं । एक नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिन म्याद थपेको छ । नाबालिग बलात्कारको आरोप लगेसंगै क्रिकेटर सन्दीपलाई राष्ट्रिय क्रिकेट संघ क्यानले कप्तानको पदबाट निलम्बन गरेको थियो।
अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज आइतबार फेरी लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले लामिछानेमाथि थप अनुसन्धान गर्ने भन्दै आज दुई दिनको म्याद थपेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
गत भदौ २१ मा एक १७ वर्षीय भनिएको किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । उनले सँगै बसेको तर बलात्कार नगरेको दाबी गर्दै आएका छन् । साथै उनले आफुलाई ती किशोरीले नै बोलाएर गएको जिकिर गरेका छन्।
२० असोजमा कतारको दोहाबाट काठमाडौं फर्किएका लामिछालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई हत्कडीका साथ पक्राउ गरेको थियो । त्यतिबेलादेखि नै सन्दीप प्रहरी वृत्त, गौशालामा कैद रहेका छन् ।