काठमाडौँ । सरकारलेआफ्नै लगानीमा चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्नेगरी नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने भएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।
जसअनुसार डिजाइन र निर्माणका दुबै काम ठेक्का लिने पक्षले गर्नुपर्ने छ । पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका अनुसार नयाँ निर्माण गरिने पुल ४२० मिटर लामो हुने छ । ‘बनिरहेकाभन्दा फरक र आकर्षक पुल निर्माण गर्न लागिएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘जुन पुल नेपाल सरकारले आफ्नै लगानीमा बनाउने हो ।’ अहिले भइरहेको पुल भन्दा तल्लो वा माथिल्लो भाग कता बनाउने भन्नेबारे टुंगो लाग्न बाँकी नै रहेको उनको भनाइ छ ।
उक्त पुल पर्यटक आकर्षित गर्नेगरी तयार गरिने छ । यस कार्यमा लागत एक अर्ब बढी लाग्ने जनाइएको छ । साढे दुई महिनाभित्र यसको ठेक्का सम्झौता भइसक्ने पुल महाशाखाले जनाएको छ ।