काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । उनले अझ कर्णाली जस्ताे क्षेत्रकाे विकासमा कृषिकाे भूमिका निकै महत्वपूर्ण हुने बताए ।
‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन,’ उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’ अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेकाे बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेकाे पनि उनले दाबी गरे।
शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।’
यस्तै गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा नै पालिकाले लगानी बढाउने बताए ।