काठमाडौ, ७ चैत । नोवेल कोरोना भाइरस(कोभिड १९)को कारण गैडा गनना पुन स्थगन भएको छ । चैत १ गतेदेखि सुरु गर्ने भनिएको गैडा गनणा कार्य मौसमको कारण स्थगत भएको थियो । सरकारले २५ जना भन्दा बढी व्यक्ति भेला नहुन आग्रह गरेपछि उक्त कार्य पुन स्थगन भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए ।
उनका अनुसार गैंडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भएकाले कोरोनाको त्रास घटेसँगै गणना गर्न सकिने बताए । गणनाका लागि शुक्रबार र शनिबार तालिमसमेत राखिएको थियो । रुपाखेतीका अनुसार गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घटेसँगै गणना हुनेछ ।
विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो । गैंडा गणनाका लागि चैत महिना अत्यन्तै राम्रो भए पनि विशेष परिस्थितिका कारण गैंडा गणना स्थगन गर्न बाध्य भएको विभागले जनाएको छ ।
विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गैंडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । हरेक पाँचरपाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैंडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान रहेको छ ।
सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैंडाको सङ्ख्या नगण्य छ । प्राकृतिक कारणले चितवन निकुञ्जमा गैंडा मर्ने क्रम बढ्दै गइरहेको छ । यस वर्ष हालसम्म २२ वटा गैंडा प्राकृतिक कारणले मरिसकेका छन् ।