Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरबौंका सरकारी जग्गा ब्यक्तिको नाममा, मालपोतका हाकिम नै भूमाफियाका एजेन्ट


    बुधबार, साउन २१ २०७७
    1.1K
    Shares
  • ६ मिनेट पाठ
  • जनकपुरधाम । मालपोत तथा भूमिसुधार कार्यालय धनुषामा अनियमितताले सीमा नै नाघेको छ । ब्यक्तिले गैरकानुनी रुपमा दर्ता गरिएका सरकारी जग्गा नेपाल सरकारको नाममा ल्याउने वर्तमान सरकारको नीति छ । तर प्रमुख मालपोत अधिकृत वासुप्रसाद कोइरालाले नै त्यस्ता गैरकानुनी रुपमा दर्ता गरिएका जग्गा सरकारको नाममा ल्याउन आलटाल गर्ने गरेका छन् । भूमाफियासँग मिलेर उनले गैरकानुनी रुपमा दर्ता गरिएका जग्गा नेपाल सरकारको नाममा ल्याउन  चासो दिएका छैनन् । जबकि भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याल अतिक्रमणमा परेका सरकारी जग्गा संरक्षणमा अहोरात्र लागिरहेकी छन् । मन्त्री अर्याल सरकारी जग्गा अतिक्रमणबाट जोगाउन फिल्डमै खटिरहँदा मातहतका मालपोत प्रमुख भने भूमाफियालाई संरक्षण गरिरहेका छन् । त्यसको दृष्टान्त हुन्, मालपोत कार्यालय धनुषाका प्रमुख बासु कोइराला ।

    अबैधानिक तरिकाले सरकारको नामको जग्गा ब्यक्तिले दर्ता गराएको भए त्यस प्रकारको जग्गाको ब्यक्तिको श्रेस्ता खारेज गर्ने कार्य मालपोत कार्यालयको हो । सरकारको नीति यस्तो भए पनि कार्यालय प्रमुख कोइरालाले भूमाफियासँग मिलेमतो गरी जनकपुरका अरबौं मूल्यका जग्गा सरकारको नाममा ल्याउन बिलम्ब गदैैआएको तथ्य फेलापरेको छ ।

    साविकमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको जनकपुरको पिडारी चोकको करिव ८ बिगाहा जग्गा जग्गा राजाको शासनकालमा कुमार खड्गबिक्रम शाहले आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए । राजा महेन्द्रका छोरीज्वाई खड्गविक्रमको उक्त जग्गा उनको मृत्यु पश्चात् छोरा दिवसबिक्रम साहले आफ्नो नाममा नामसारी गराएका छन् । नामसारीपछि स्थानीय बासिन्दाले सो जग्गा सरकारी भएको, उक्त स्थानमा हाटबजार लाग्ने गरेको, कब्रिस्तान र सरकारी प्राथमिक स्कुलसमेत भएकाले मालपोत ऐन, २०३४ को दफा २४ (२०) बमोजिम बदर गरी नेपाल सरकारको नामाम दर्ता गर्न निवेदन पेश गरेका छन् । उक्त जग्गा सरकारी भएको प्रमाणसहित स्थानीयले निवेदन दिएपछि कारबाही चलिरहेको अवस्था छ । प्रमाणसहित निवेदन परेपछि जग्गा सरकारकै नाममा ल्याउनुपर्नेमा कार्यालय प्रमुख कोइरालाले जग्गाधनी दिवसबिक्रम शाहसँग आर्थिक लाभ लिई आफू कार्यालयको प्रमुख रहँदासम्म उक्त जग्गा बदर नगर्ने आश्वासन दिएको समाचार स्रोतले बतायो । उनले उक्त जग्गा बदर नगर्ने सर्तमा शाहसँग रु. ५० लाख घुस बुझेको स्थानीयको आरोप छ । घुस बुझेपछि कोइरालाले जग्गादर्ता सम्बन्धी फाइल अख्तियार गएको भनी कारबाही प्रक्रिया रोकेका छन् ।

    यसबारेमा कार्यालय प्रमुख कोइरालाको प्रतिक्रिया यस्तो छ–‘म कार्यालय प्रमुख भएर आउनुअघि नै अख्तियारमा उजुरी परी छानबिन भइरहेको जानकारी पाएको हुँ । म भन्दा निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलकै समयमा अख्तियारमा उजुरी परेकाले सरकारी कायम गर्न नसकेको प्रंतिक्रिया दिएका छन् । घुुस खाएको आरोप लाग्दैमा मलाई केही हुँदैन, जनतालाई थाहा छ ।’

    यस्तै गुठी संस्थान शाखा खार्यालय जनकपुरबाट निर्णय भई आएका बिभिन्न मिसिलहरु समेत कोइरालाले मोलमोलाई गरी पैसा दिनेको काम गर्ने र पैसा नदिनेको काम नगर्ने गरेको गुनासो छ । उनले पैसा नदिने कर्मचारीहरुलाई हप्काई दप्काई गर्ने कारबाही गर्छु भन्ने र पैसा दिने कर्मचारीलाई महत्वपूर्ण फाँटमा राख्ने गरेका छन् । प्रशासन फाँटका नायबसुब्बा हुँदाहुँदै पैसा दिने भएकै कारण टाईपिष्ट सुब्बालाई स्टोर तथा रजिष्ट्रेशन फाँटमा राखेका छन् । बिभागीय परिपत्रको बिपरीत गई एकै बर्षमा एकै कित्ता जग्गा ३–४ पटकसम्म कित्ताकाट गराउने गरेका छन् । जग्गा किनबेचमा ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेमा घुस लिएर २.५ प्रतिशतमात्र लिने गरेका छन् ।

    कार्यालयका कुनै फाँटको रेकर्ड दुरुस्त नरहेको धनुषा मालपोत कार्यालय परिसरमा रहेका लेखापढी ब्यवसायीहरु बताउँछन् । यस्तै जनकपुर उपमहानगरपालिका ८ मा बस्ने रामभजन दाउशको नाममा दर्ता कायम रहेको जनकपुर न.पा. वडा नं. १३ सिट नं.१२७४–०७ कित्ता नं.८ समेतको जग्गा सो कार्यालयको र.नं. १२०९ १क मिति २०७५।११।९, र.नं. ९६४९, ९६४५क मिति २०७५।९।१५, १००७४क मिति र.नं. ११८३१ख मिति २०७५।१०।।४, २०७६।२।३, र.नं.१२९३१क मिति २०७५।११।२९ को राजीनामा पासले जग्गाधनीको भतिज रघुवंशकुमार सिंहको नाममा हालैको बकसपत्रले र आरतीकुमारी शर्मा, उर्मिलादेवी भूमिहार र रामकुमार यादवको नाममा राजीनामाको ब्यहोराबाट पास हुन गएको जानकारी प्राप्त भएतापनी कार्यालय प्रमुख कोइरालाले जनही ३० लाख रुपैयाँका दरले घुुस असुली गरी कर्मचारीलाई कारबाही नगरी जग्गा यथाअवस्थामा राखेका छन् । जबकि दास बैरागीको जग्गा कोही कसैलाई पास गर्न मिल्दैन । उक्त जग्गा मठको हुन्छ । यस्तै मालिक सिताराम मार्फत् चन्द्रनारायण लाभको नाममा दर्ता कायम रहेको मठको जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ४ सिट नं. १३९६–२२ कित्ता नं. ५७ समेतको जग्गा मठको नभएको भनी नामसारी गराई फाँटवालालाई जबर्जस्ती जग्गाधनी प्रमाण पूर्जा बनाउन दबाब दिइरहेका छन् ।

    कोइरालाले मालपोत कार्यालय धनुषाका महत्वपूर्ण मिसिलहरु आफैं लुकाई पुराना कर्मचारीले लगेको भनी पत्राचार गरी पैसाको बार्गेनिङ गर्ने गरेको समेत पीडित कर्मचारी बताउँछन् । उनको नाममा कैयौं उजुरी परेको भएता पनि अख्तियारबाट उनलाई कारबाही भने नभएको जनकपुर मालपोतमा कार्यरत पीडित राजपत्रअनंकित एक कर्मचारीले बताएका छन् ।

    तस्वीरः बासुप्रसाद कोइराला धनुषा मालपोत कार्यालय र दिवसविक्रम शाह

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार