काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ।
उक्त निर्वाचनका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि आवेदन खुला गरेको हो।
म्यादीमा भर्ना हुन डिग्री होल्डरदेखि आमाहरूसम्मको भिडभाड रहेको छ ।
म्यादी प्रहरीमा छानिए प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ।
यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ।
तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ।
निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।
अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिनुपर्नेछ।