काठमाडौँ । धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि अनशन बसेका डा.केसीलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए । उनका अनुसार बुधबारदेखि डाक्टर केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ । उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
डाक्टर केसीको स्वास्थ्य परीक्षण अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले गरेका छन् ।