काठमाडौँ । मस्कोस्थित नेपाली राजदुतावासले रुसबाट सहिजै युरोप जान सकिने प्रलोभनमा ठुलो रकम बुझाएर नआउन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । राजदुतावासले एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा शैक्षिक परामर्श केन्द्रहरुमार्फत रुस पुगेका नेपाली विद्यार्थीहरु अलपत्रमा पर्ने गरेको भन्दै सो आग्रह गरेको हो ।
स्टुडेन्ट भिसामा आउने विद्यार्थीका लागि रसियामा आकर्षक रोजगारीको अवसर रहेको आश्वासनमा यहाँ पुगेर सो अनुसारको अवसर नपाएपछि दैनिकी चलाउन समेत कष्टकर रहेको भन्दै नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै राजदुतावासमा आउने गरेको सूचनामा उल्लेख छ । ती नै मध्येका केही विद्याथी सम्पर्क विहिन र ठुलो मानसिक तनावमा रहेको राजदुतावासले जनाएको छ ।
रुसका विश्वविद्यालयमा छात्रवृत्ति र नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई राम्रो अवसर रहेको उल्लेख गर्दै राजदुतावासले अध्ययन बाहेक अन्य कुनै प्रकारको प्रलोभनमा नफस्न आग्रह गरेको छ । साथै, भाषिक ज्ञानको अभाव र यहाँको वस्तुस्थिति नबुझि विभिन्न आश्वासनमा परेर रसिया आएका विद्यार्थी अनेकन समस्यमा पर्ने गरेको राजदुतावासले बताएको छ ।