काठमाडौं । नबिल बैंकले गत आइतबार एकै दिन आठ नयाँ शाखा विस्तार गरेको छ । नबिल बैंकले ललितपुरको मंगलबजार, इलाम, मूलपानी, सुरुंगा, भागवान् पाउ (डल्लु), साँखु, काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उपत्यकाभित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रूपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा मंगलबजार शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
त्यस्तैगरि उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।
बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तार सँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए ।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।
गत आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । नबिल बैंक विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।