काठमाडौं । भारतले चामल निर्यातमा कडाई गर्नुको साथै लाग्ने करको दर पनि वृद्धि गरेको छ। भारतीय बजारबाट नेपालमा करिब ४० अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य बढ्नेछ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान र चामलमा २० प्रतिशत कर वृद्धि गरेको छ ।
नेपाल दाल चामल उद्योग संघका अनुसार भारतले बुधबार यस्तो निर्णय गरेको हो ।
साथै भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।
आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले चामल निर्यातमा रोक लगाएको हो।
भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको खरीप सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
भारतले आर्थिक वर्ष २०२/र२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर(बासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक छ ।
मुलुकले २०२१/२२ मा गैर-बासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो।
गत वर्ष २०२०/२१ मा १२४.३७ मिलियन टनको तुलनामा गत बाली वर्षमा धान उत्पादन बढेर १३०.२९ मिलियन टन भएको थियो।