काठमाडौँ। बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)संग कानुनी सहयोगको आग्रह गरेका छन् ।
कप्तान लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग आग्रह गरेका हुन् । लामिछानेले क्यान समक्ष आफू निर्दाेष रहेको बताएको उनले जनाए ।
‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्ने भनेका छन् । सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले नपाल फेससंग कुराकानी गर्दै भने ।
कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई आवश्यक पर्दा सहयोग गर्ने बताए ।
‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ । हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ मल्ले भने ।
कप्तान सन्दीपमाथि एक किशोरीले आफुलाई जवरजस्ती पटक-पटक करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।