काठमाडौँ। काठमाडौंको ठमेलस्थित मनि एक्सचेन्ज सञ्चालकलाई एक अपरिचित समूहले बुधबार राति अपहरण गरेर ३० लाख रुपैयाँ लुटपाट गरेको छ।
बुधबार राति करिब ७ः५५ बजे तीन वटा मोटरसाइकलमा सवार पाँच जना पुरुषहरूको समूहले ठमेलस्थित ओरिन्टेल मनि एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठलाई अपहरण गरी उक्त रकम लुटपाट गरेको प्रहरीले बताएको छ।
काठमाडौं महानगरपालिका–१५ डल्लु पुल र टंकेश्वर पुलको बीचमा रहेको सो मनि एक्सचेन्जका सञ्चालक श्रेष्ठलाई अपहरण गरेर उक्त समूहले ठमेल म्हेपी हुँदै डल्लु लगेर श्रेष्ठसँग रहेको तीस लाख रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
लुटपाटपछि फरार रहेका उनीहरूको तीनमध्ये एउटा पल्सर २२० मोटरसाइकल बा ७९ प ८३२७ नम्बरको रहेको खुलेको छ। अन्य दुईमध्ये एउटा पल्सर २२० र अर्को नीलो जिक्सर मोटरसाइकल भन्ने मात्र खुलेको छ।
फरार रहेका उनीहरूको खोजी भइरहेको एसपी मैनालीले बताए।