भक्तपुर । सवारी अनुमतिपत्र (लाइसेन्स)मा सेटिङ गर्दैआएका इजी वे ट्रायल सेन्टरका संचालक जोन भनिने निर्भयबाबु प्रसाई पक्राउ परेका छन् । काठमाडौंको थापागाउँको अपार्टमेन्टमा बस्दै आएका प्रसाईलाई प्रहरीले चेकबाउन्सको मुद्दामा ५ दिनअघि पक्राउ गरेको हो । प्रसाईलाई चेक बाउन्समा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रजित केसीले बताए । प्रसाईकै हजुरबाबा नाता पर्नेले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी उनले दिएका छन् ।
४० लाखको चेक बाउन्सको उजुरीपछि उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गरेका जोनलाई अनुसन्धानका लागि म्यादथप गर्न मंगलबार दिउँसो अदालतमा उपस्थित गराएको थियो । तर जोनले भने आफू बिरामी रहेको भन्दै अस्पतालमा बसी पक्राउ नपरेको भन्दै भ्रममा पार्दैआएका छन् । भक्तपुरका एसपी केसीले उनी पक्राउ परेको पुष्टि गरेपछि जोनको दाबी झुटो साबित भएको छ ।
प्रसाईमाथि विदेशमा बस्ने नेपालीसँग दुईलाख रुपैयाँ घुस लिएर लाइसेन्स बनाउने गरेको आरोप छ । भक्तपुरको सिर्जनानगर राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर भक्तपुरको जगाती यातायात कार्यालयको एकमात्र ट्रायल गर्ने ड्राइभिङ सेन्टर हो । विगत ५ बर्षदेखि नै भक्तपुरमा लाइसेन्स लिनेको चाप बढ्दा पनि ट्रायल लिने ठाउँ अरु थप नगरी एउटैमात्र राखिएको छ ।
एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतकै संरक्षण प्रसाईलाई भएकाले अरु ट्रायल सेन्टर थप गर्न नदिइएको समाचार यसअघि पनि सार्वजनिक भएका थिए । प्रसाईले महेश बस्नेतकै आडमा विदेशमा बस्नेहरुलाई लिखित र मौखिक परीक्षामा उपस्थित नै नभए पनि सेटिङमा लाइसेन्स निकाल्ने गरेको आरोप छ । विदेशमा बस्नेहरुसँग प्रतिलाइसेन्स २ लाख रुपैयाँ घुस लिने गरेको आरोप प्रसाईमाथि लाग्दैआएको छ । प्रसाईको सेटिङमा महेश बस्नेतले जगाती यातायातका कार्यालय प्रमुख सरुवा गराउने गरेका थिए । बस्नेतको चाहना अनुसार मात्र जगाती यातायातका हाकिम परिवर्तन हुन्थे ।
जोनमाथि मिटरब्याजको कारोबार गरेको आरोप समेत लागेको छ । स्रोतका अनुसार महेश बस्नेतको आडमा उनले एक लाखको दैनिक १ हजार रुपैयाँमा मिटरब्याजको कारोबार समेत गर्दैआएका छन् ।
ड्राइभिङ सेन्टरको नाममा जोनले मिटरब्याजदेखि विभिन्न गैरकानुनी धन्दा गर्दैआएको खुलेको छ । इजी वे ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्रको ट्रायल गराउँदा नक्कली परीक्षार्थी प्रयोग हुने घटना पटक पटक भेटिने गरेका छन् । परीक्षामा पास नहुनेका लागि नक्कली परीक्षार्थी जोनले जुटाउने गरेका छन् । जोनले नै ठूलै रकम घुस लिएर नक्कली परीक्षार्थीको ब्यवस्था लामै समयदेखि गर्दैआएका छन् । पटक पटक उनके ड्राइभिङ सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ परे पनि यातायात कार्यालय जगातीले त्यहीँ ट्रायल गराउने गरेका छन् ।
इजी वे ट्रायल सेन्टरबाट ३१ जेठ, २०७५ मा चारपांग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो । कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
१९ साउन, २०७९ मा दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल) मा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिने इन्द्रावती गाउँपालिका–१० घर भएका २१ बर्षीय सुजन भट्टराई पक्राउ परेका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने भट्टराईलाई त्यतिबेला पक्राउ गरिएको थियो ।
इजी–वे ट्रायल सेन्टरबाट २०७६ पुस १७ गते दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरभ रिमालले आफ्नो दाजुको सट्टामा मोटरसाइकलको ट्रायल दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
त्यस्तै २०७६ फागुन ५ गते इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भन्दै हिँड्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई काठमाडौँको शंखमूलमा बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
यस सेन्टरमा नक्कली परीक्षार्थीले परीक्षा दिने गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा एकैदिन २ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने नक्कली परीक्षार्थीहरुमा सिन्धुली घर भएका २० बर्षीय टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा–१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धनकुमार ईङमान (लिम्बु) र भक्तपुर नगरपालिका १० बस्ने बर्ष २० को सनिस श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिदै गरेको जिल्ला मोरङ लेटाङ गाउपालिका–८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राई रहेका थिए ।
यी केही उदाहरण हुन्, इजी वे ड्राइभिङ सेन्टरबाट धेरै पटक नक्कली परीक्षार्थी पक्राउ पर्दा पनि यातायात कार्यालय जगातीले त्यो ट्रायल सेन्टरबाट मात्र परीक्षा गराउँदैआएको छ ।
प्रसाईले ट्रायलमा फेल हुनेहरूलाई यातायातका हाकिमसँग सेटिङ गरी गाडीको २५ हजार र मोटरसाइकलको १० हजार घुस लिएर लाइसेन्स निकालिदिने काम समेत गर्ने गरेको आरोप छ ।
विस २०७४ को असोजमा यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुर थिमि नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको थियो । इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको र साधन प्रयोग गर्न दिएबापतको रकम समेत नलिई निःशुल्क सेवा दिएको थियो ।
सेवाग्राहीले दोहोरो शुल्क बुझाउनु परेको विषयमा उजुरी परेपछि अख्तियारले इजीवे ट्रायल सेन्टरले यातायात व्यवस्था कार्यालयकै अनुमतिमा सेवाग्रहीसँग ट्रायल दिएवापत राज्यलाई बुझाउनुपर्ने दस्तुरबाहेक अन्य शुल्क लिएको विषयमा प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न लिखित निर्देशन दिएको थियो । तर महेश बस्नेतको संरक्षण प्राप्त भएकाले अख्तियारको निर्देशन अनुसार इजी वेमाथि कुनै छानबिन भएन ।
प्रदेश मन्त्रालयको स्वीकृति र सहमित बिना नै यातायात कार्यालय जगाती र ठूलो भर्याङले ट्रायल सेन्टरलाई सःशुल्क बनाएको थियो । यातायात व्यवस्था कार्यालय जगातीका तत्कालीन प्रमुख किरणराज ढकालले ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाईसँगको साँठगाँठमा सेवाग्राहीसँग शुल्क उठाउनेगरी अनुमति दिएका थिए ।
प्रसाई र महेश बस्नेतको कनेक्सन
प्रसाईका तीन वटा नाम छन् । उनी आफूलाई ठाउँअनुसार परिचय गराउँछन् । कहीँ अभयबाबु भन्छन् त कहीँ निर्भयबाबु भन्छन् । उनी जोनका रुपमा पनि आफूलाई कतिपय ठाउँमा प्रस्तुत गर्दछन् । विगतमा अनुज घिमिरे, किरण ढकाल जगाती यातायातको प्रमुख हुँदा पनि यिनै निर्भयबाबु प्रसाईंको इजिवेलाई नै ट्रायलको एकाधिकार दिइएको थियो । नेपाली कांग्रेसका घोषित कार्यकर्ता बताउने अनुज घिमिरे महेश बस्नेतका अतिनिकट थिए । महेश बस्नेतकै आशीर्वादमा उनले जगाती यातायातको ट्रायल सेन्टरको जिम्मा इजिवेलाई दिएका थिए ।
यातायात कार्यालय जगाति हाकिमदेखि तलका कर्मचारीसम्म सबैलाई प्रसाईंले महेश बस्नेतको आडमा आफ्नो कारिन्दाजस्तै बनाएका छन् । इजिवे ट्रायल सेन्टरमा जगाति यातायातले ट्रायल गराउने भएकाले गाडी र मोटरसाइकल सिक्नेहरूको पनि त्यहीँ लाइन लाग्ने गरेको छ । फेल भएपनि लाइसेन्स दिलाउन सक्ने प्रचार भएपछि प्रसाईंको बाहेक अरु ट्रायल सेन्टरमा कोही पनि सिक्न जाँदैनन् । इजीवेमा भने ड्राइभिङ सिक्नेहरूको भीड लाग्ने गरेको छ ।
यसरी यातायात कार्यालयसँग सेटिङ गरी ट्रायल सेन्टरमा सिकारुहरूको लाइन लगाएर मासिक १० औं लाखको कारोबार प्रसाईंले गर्दै आएका छन् । महेश बस्नेतको कृपाप्राप्त भएकाले इजी वेलाई यातायातका हाकिमहरुले समेत साथ दिने गरेका थिए ।
इजिवे ट्रायल सेन्टर, सिर्जनानगर राधेराधे हनुमन्ते खोलाको पुलसँगै छ । पुल बनाउने क्रममा उक्त सेन्टरको जग्गासमेत पर्ने भएकाले उक्त पुल बनाउन नै इजिवे ट्रायल सेन्टरले रोक्दै आएको छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend