काठमाडौँ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो ।
घरमै बसेर अग्रिम टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको विभिन्न निकायसँग सहकार्य गरी प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको छ ।
विभागले कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्क लगाएर या अन्य स्वास्थ्य मापदण्ड पालना गरी गाडी चलाउन आग्रह गरेको छ । यातायत व्यवसायीहरुले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नुपर्ने छ ।
विभागले यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारी साधनहरु असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लागएको छ । यस्ते यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने विभागले बताएको छ ।