काठमाडौँ। आजबाट काठमाडौँमा महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको आजको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाल र भुटानबीचको खेल बेलुकी साढे पाँच बजेबाट सुरु हुनेछ ।
आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । घरेलु मैदानमा हुन लागेको यस महिला साफ च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालले पहिलो लक्ष रहेको छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भने भएको छैन।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
हिजो भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो टिम खेलको लागि तयार रहेको र यो महिला साफ च्याम्पियनसिपको छैटौँ संस्करण रहेको बताएका थिए ।