काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ छुटेका छन् । सोमबार अपराह्न छायाँ सेन्टरका गार्ड गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले पाँच दिनको अनुमति लिएको थियो । तर, सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले आज उनलाई रिहा गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै उनलाई जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।