काठमाडौँ । चिनियाँ जन कँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने भएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।
आज परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ली चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते आउने बताएको छ ।
मन्त्रालयका अनुसार सोही दिन सभामुख सापकोटा र चिनियाँ काँग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुने छ । त्यसलगत्तै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोज समेत दिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष लीबीच २८ गतेका लागि भेटवार्ता तय गरिएको छ । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा.नारायण खड्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।
नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग २९ गते भेट्ने विज्ञप्तिमा भनिएको छ । नेपाल भ्रमण सम्पन्न गरी ३० गते स्वदेश फर्कने तय भएको छ ।