काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालगुङ नगरपालिकाका पूर्व उपप्रमुख सुरेन्द्र खड्कासहित चार जनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ । नदीजन्य पदार्थमा कम कर उठाइ नगरपालिकालाई हानिनोक्सानी पु¥याएको दाबी गर्दै अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा आज मुद्दा हालेको हो ।
मुद्दा दायर हुनेमा पूर्व उपमेयर खड्कासहित तत्कालीन वडाअध्यक्ष जीवन आचार्य, पूर्व पमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय छन् ।
ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुनबमोजिम तोकेको दर भन्दा कममा राजस्व संकलन गरेर उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
उनीहरुले १७ लाख ४० हजार ६६ रुपैयाँ सरकारी रकम हिनामिना गरेको दाबी गर्दै दोब्बर अथात् ३४ लाख ८० हजार १३२ रुपैयाँ बराबरको जरिवाना सजाय मागदाबी गरेको छ ।