काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारीको सहयोगमा उनकै गाडीमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भीआईपी कक्षबाट शुक्रबार भगाइएका रिजवान आलम मेरियट होटलबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गर्न सफल भएको छ ।
सुनसरी घर भएका आलम ठगी आरोपमा प्रहरीको फरार सूचीमा थिए । फरार सूचीमा रहेका आलम शुक्रबार फ्लाई दुबईको उडानबाट नेपालमा ओर्लिनासाथ मुस्लिम आयोगका अध्यक्ष अन्सारीसँगै भीआइपी कक्षामा गए । उनको पासपोर्ट अध्यागमनमा चेक गर्दा कालोसूचीमा रहेको पाइएपछि उनलाई पक्राउ गर्न खोज्दा आयोग अध्यक्ष अन्सारीले उनलाई गाडीमा राखी भगाएका थिए ।
आलमबिरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले उनी बिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । उनका बिरुद्ध रेडकर्नर नोटिस समेत जारी भएको थियो । तर अध्यक्ष अन्सारीले नै रेडकर्नर नोटिस जारी भएका अभियुक्तलाई भगाउने काम गरी संवैधानिक आयोगको मर्यादामाथि नै प्रश्न उठाउने काम गरेका छन् ।