काठमाडौं, चैत्र ६ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ का कारण उत्पन्न परिस्थितमा उपभोक्ताहरुलाई सहजै उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भएको छ ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखराज भट्टले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले शुक्रबारदेखि ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी गराउनु भएको छ ।
मन्त्री भट्टले नेपालमा ६ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न मौज्दात रहेको पनि सुनाए । यस्तै, ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि नुन तथा ३ महिनासम्मका लागि चिनी पनि मौज्दात रहेको मन्त्री भट्टको भनाइ थियो ।
उपभोक्ताहरुले आफूलाई आवश्यक पर्नेभन्दा धेरै वस्तुहरु मौज्दात राख्न खोजेका कारण बजारमा माग र आपूर्तिको सन्तुलन केही बिग्रिन पुगेको मन्त्री भट्टले बताउनु भएको छ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या नरहेको मन्त्री भट्टले जानकारी दिनुभयो । तर, व्यवस्थापनमा समस्या आउँदा बजारमा केही समस्या देखिएको उहाँले बताउनु भएको छ ।