काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले एक्साभेटर र डोजर चलाउन रोक लगाएको छ । जमिन सम्याउने भन्दै जथाभावी डोजर चलाउने कामले पहिरो जाने गरेको गुनासो बढेपछि पालिकाभित्र सञ्चालन गर्न नदिने निर्णय गरिएको नगर प्रमुख दिपक कुमार रिसालले बताए ।
उनले अनुमति बिना जेसिवि, एक्साभेटर र डोजर लगायत मेसिन सञ्चालन गर्न नदिने उल्लेख गरे । नगरपालिका क्षेत्रभित्रका कतिपय व्यक्तिहरुले जथाभावी डोजर लगायत मेसिन संचालन गरी जमिन सम्याउने, मिलाउने काम गर्नाले पहिरो जाने गरेको मेयर रिसालको भनाइ छ ।
सोही कारण सँधियारको जग्गा, भवन र पर्खाल लगायतका संरचनामा क्षति पुगेको भन्दै व्यापक गुनासो आएको बताउँदै उनले भने, ‘जग्गा वा सार्वजनिक लगायत कुनै पनि स्थानमा जेसिवि,एक्साभेटर र डोजर लगायत मेसिन सञ्चालन गरी जमिन सम्याउने मिलाउने लगायतको काम गर्नुपर्ने भएमा अनिवार्य रुपमा यस नगरपालिकाका नगर प्रमुख वा सम्बन्धित वडाको वडाध्यक्षको अनिवार्य रुपमा अनुमति लिनुपर्ने छ ।‘
मेयर रिसालले अनुमतिबिना कोही कसैले कुनै पनि स्थानमा डोजर लगायत मेसिन सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।