काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध २० जनाले उजुरी दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ८ गतेसम्म २० जनाले उजुरी दर्ता गरेको जानकारी दिए।
सरकारले उजुरी दिन आह्वान गरेपछि उजुरी पर्न थालेको र आउने क्रम जारी रहेको उनले बताए।
उनका अनुसार प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका छन् ।
मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० देखि ३० लाखसम्मको कागज गरेको उजुरीहरुमा उल्लेख गरिएको पाइएको छ ।
नेपालगञ्जका एकजना मिटरब्याजीले पाँच लाख रुपियाँ दिएर दुई भाइसँग १०–१० लाखको कागज गराएको पाइएकाले उनीहरुलाई पनि बोलाएर छलफल गराउने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कतिपय मिटरब्याजीविरुद्ध बाँकेमा रहेका विभिन्न अदालतमा समेत मुद्दा चलेको पाइएको छ ।