Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनलाइन गेम वन एक्स बेट खेलाउने चार जना पक्राउ


    सोमबार, भाद्र ६ २०७९
    935
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले अनलाइन गेम वन एक्स बेट खेलाएको आरोपमा दुई कन्सल्टेन्सी सञ्चालकसहित चार जनालाई पक्रेको छ । झापाको दमक नगरपालिका आसपास क्षेत्रमा अनधिकृत रुपमा अनलाइन गेमिङ वन एक्स बेट खेलाउने उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलनमार्फत पक्राउ परेका दमकस्थित पद्मा कन्सल्टेन्सीका सञ्चालकहरू २५ वर्षीय सत प्रकाश साह र २७ वर्षीय राजु श्रेष्ठलाई सार्वजनिक गरेको हो । 

    झापाका डिएसपी बसन्त पाठकका अनुसार दमकमा फोटो स्टुडियो चलाउने ३० वर्षीय अरुण कार्की र ब्रिटिश आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक ३३ वर्षीय राजु लिम्बुलाई समेत नियन्त्रणमा लिएको छ । 

    पक्राउ परेका साहको साथबाट २ सय ४४ वटा एनसेलको सिम, श्रेष्ठको साथबाट प्रयोगमा ल्याइएका ३५ वटा एनसेल सिम र प्रयोगमा नल्याइएका ४५ वटा एनसेल सिम बरामद गरिएको डिएसपी पाठकले बताए । 

    उनीहरूले कन्सल्टेन्सीमा पढ्न आउने विद्यार्थीले राखेको नागरिकताबाट सिम कार्ड निकालेर ई(सेवा खोली वन एक्स बेटको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साहले विभिन्न खाताबाट ८० लाख भन्दा बढीको कारोबार गरेको भेटिएको छ । 

    पक्राउ परेका चारै जनामाथि जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार