काठमाडौँ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल बढेको छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।