काठमाडौँ । नेपाल निजामती सेवामा कार्यरत पाँच राष्ट्रियस्तरका ट्रेड युनियनले थप आन्दोलन गर्ने भएका छन्। संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत ट्रेड युनियनले आज संयुक्त विज्ञप्ति जारी गर्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
जसमा नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाल पोखरेल, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले हस्ताक्षर गरेका छन्।
पहिलो चरणमा आफूहरुले उठाएका मागहरु पूरा गर्न सरकार उदासीन भएको भन्दै उनीहरुले दोस्रो पटक आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । जसअनुसार आगामी सोमबार सिंहदरबारमा पर्चा वितरण गर्ने र मंगलबारदेखि १७ गते शुक्रबारसम्म सबै सरकारी कार्यालयहरुमा कालो व्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी काम काज गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ट्रेड युनियनले भदौ ९ गते प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने भएका छन् । सोही दिन प्रनिनिधि सभा र राष्ट्रियसभाको नियमित बैठकमा आफूहरुको माग उठाउन सबै सांसदहरुलाई आग्रह गर्ने उनीहरुलले बताएका छन् ।
यसअघि पाँच वटै ट्रेड युनियनले विभिन्न मागहरु लेखिएका प्लेकार्ड छातीमा टाँसी काम गर्ने लगायत विभिन्न गतिविधि गरी आन्दोलन गरेका थिए ।