काठमाडौँ । दक्षिण कोरिया पठाउने भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । काठमाडौँको सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका–८ घर भएका आरोपी ३४ वर्षीय दिनेश खतिवडालाई आज प्रहरीले नियन्त्रणमा लिएको ।
खतिवडाले दक्षिण कोरियाको प्रतिष्ठित होटलमा मासिक दुई लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइ दिने र त्यसका लागि १० लाख रुपैयाँ लाग्ने प्रलोभनमा पीडितसँग सात लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । खतिवडालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।