काठमाडौँ । प्रहरीले निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । बलात्कार आरोपी श्रेष्ठलाई आज धनुषाबाट प्रहरीले पक्राउ गरिएको हो ।
धनुषा घर भएकी निहारिकाले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही गर्न र बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्ट गर्न माग गर्दै अनशन बस्दै आएकी हुन्।
वसन्तपुरमा अनशनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । यसअघि उनी काठमाडौँको माइतीघर मण्डला लगायत क्षेत्रमा अनशन बसेकी थिइन् । पछिल्लो समय उनले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।