काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ३८ करोड भन्दा बढी पुगेको छ । गत आर्थिकको असार मसान्तसम्मको खुद मुनाफा एक अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भएर आठ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको हो ।
जब कि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको खुद मुनाफा सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेको थियो । त्यस बाहेक कम्पनीले गैर कार्य सञ्चालन तर्फको आयमा समेत वृद्धि गरेको टेलिकमले बताएको छ ।
यसैगरी कम्पनीले एक वर्षमै ४४ अर्ब ३२ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आवको तुलनामा दुई अर्ब ११ करोड १४ लाख ५४ रुपैयाँले आम्दानी बढाएको हो ।
यो आम्दानी पछिल्लो चार वर्षयताकै उच्च भएको बताइन्छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा ४५ अर्ब २७ करोड आम्दानी गरेको टेलिकमले त्यसपछि २०७७/७८ सम्म क्रमशः ४३ अर्ब ४८ करोड रुपैयाँ, ४१ अर्ब ४९ करोड रुपैयाँ र ४२ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।