Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको प्रबन्धमा विवादित मल्ल ल्याइए, गौतम हटाइए


    शनिबार, साउन १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । तलब र रासनबाहेक एक रूपैयाँ नखाएको भनी प्रहरी संगठनभित्र चिनिएर अहिले नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक भएका शैलेस थापा क्षेत्रीकै कार्यकालमा नेपाल प्रहरीको भन्सार भनेर चिनिने प्रबन्धको एलसीमा विवादित प्रहरी निरीक्षकलाई ल्याइएको छ ।

    नेपाल प्रहरीका सबैभन्दा विवादित महानिरीक्षक सर्वेन्द्र खनालले बहाली भएकै दिन प्रबन्धको एलसीमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक बलराम खत्रीलाई हटाएर केशव गौतमलाई ल्याएका थिए । गौतम खनालको २२ महिने र ठाकुर ज्ञवालीको ५ महिने कार्यकालमा एलसी शाखामा बस्न सफल भए । हालका आइजीपी थापाले आउनेबित्तिकै नहटाए पनि २ हप्तामा नै एलसीका गौतमलाई कुकुर शाखामा काज खटाएर विवादास्पद निरीक्षक परशुराम मल्ललाई ल्याएका छन् । ट्राफिकको मुद्दामा कार्यरत हुँदा होस् या उजुरी छानविनमा रहँदा होस् वा इलाका प्रहरी कार्यालय मेलम्चीमा कार्यरत रहँदा होस् सधैँ विवादमा तानिने उनको कमजोरी नै पैसा भएको कुरा यसअघि धेरै सञ्चारमाध्यमहरूमा आइसकेको छ ।

    ट्राफिकमा मुद्दामा कार्यरत रहँदा उनी यति विवादित थिए कि अरू भए उनको उजुरीउपर छानविन भई कारवाहीमा पर्ने थिए या जागिरै जान सक्ने थियो तर राजनीतिक पहुँचका आधारमा उनी जोगिँदै गए । उनलाई तत्कालीन आइजीपी प्रकाश अर्याल, निवर्तमान आइजीपी ठाकुर ज्ञवाली या त नेकपाका नेता वामदेव गौतमले होस् कुनै न कुनैले यस्तै विवादमा परेका बेला वा छानबिनमा पर्ने अवस्था आएपछि जोगाउँदै आए । उजुरी छानविनमा हुँदा पनि उनी धेरै विवादमा आएका थिए तर आइजीपी हुने बित्तिकै प्रकाश अर्यालले उनलाई कमाउने राम्रो इप्रकाका रूपमा चिनिने मेलम्चीको प्रमुख बनाउर पठाए । त्यहाँ उनी यति बदनाम भए कि तत्कालीन सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले छानविन गरी कारवाही नै गर्न खोजेका थिए तर त्यतिबेला पनि उनी जोगिए ।

    मेलम्चीबाट एकाध महिना अन्यत्र गई आलेपमा आएर बसेका मल्ल २ वर्ष उक्त शाखामा बस्न सफल भए । निवर्तमान आइजीपी ठाकुर ज्ञवालीले मल्ललाई आफ्नो कार्यकालमा एलसीमा ल्याउन खोजेका थिए तर केशव गौतमले सोर्स लगाएका कारण उनी आउन पाएनन् । अन्यथा ज्ञवालीकै पालामा मल्ल प्रबन्धको एलसीमा आउने अवस्थामा थिए । जहाँ पोष्टिङ हुँदा पनि सधैँ रकम कलममा विवादमा पर्ने यस्ता विवादास्पद निरीक्षकलाई आइजीपी शैलेस थापा क्षेत्रीले कसको सल्लाहमा ल्याए भन्ने प्रश्न अहिले प्रहरीभित्र व्यापक चर्चाको विषय बनेको छ । त्यसो त उनी असईमा १०५ टोलीका हुन् । हाल प्रबन्धका एसपी प्रेमबहादुर बस्नेतकै असईमा व्याजी हुन् अर्थात् निरीक्षक मल्ल र एसपी बस्नेत ०५१ सालका असई हुन् । ३० वर्षे सेवा अवधिका कारणले पनि उनीहरूको जागिर अवधि ०८१ सम्म मात्रै बाँकी छ । छोटो जागिर अवधि भएका र बारम्बार विवादमा परेका यस्ता निरीक्षकलाई किन प्रबन्धको एलसीमा ल्याइयो भन्ने प्रश्न उठेको छ । त्यसो त मल्ल २०५८ सालमा निरीक्षक भएका हुन् ।

    हालका आइजीपी थापाको सचिवालयमा कार्यरत एसपी रमेश थापाको निरीक्षकमा व्याजी हुन् । मुख्यालय स्रोत भन्छ कि निजलाई ल्याउन व्याजी भएकै कारण एसपी रमेश थापाको पनि सहयोग र सद्भाव रहेको छ । यसबाहेक प्रबन्धकै एसपी उनकै व्याजी भएका कारण पनि उनी आउन सहज भएको हो । लेखाको कारोवार नै नगरेका र केबल लेखाको तालिममात्र गरेका मल्ललाई प्रबन्धको एलसीमा ल्याउनुको पछाडि पनि एसपी बस्नेतको व्यक्तिगत स्वार्थ रहेको चर्चा मुख्यालयमा चलेको छ ।

    सर्वेन्द्र खनालको कार्यकालमा एलसीमा कार्यरत इन्स्पेक्टर गौतमले जाँदाजाँदै २०७७ असार मसान्तमा ठेकेदारलाई ७० करोडको भुक्तानी दिन भ्याए । गौतमले ठेकेदारबाट लिएको ५ प्रतिशत कमिसनमध्ये १ प्रतिशत आइजीपी ठाकुर ज्ञवालीलाई बुझाएको र ०.२५ प्रतिशत प्रबन्धका तत्कालीन डीआइजी सूर्य उपाध्यायलाई दिएको स्रोत बताउँछ । बाँकी नयाँ आएका आइजीपीलाई पनि मिलाउनुपर्छ, अडिटलाई मिलाउनुपर्छ भनेर राखेको भन्दैआएका थिए । आफ्नो नाम बेचेर कमिसन कुम्ल्याएको कुरा आइजीपी शैलेश थापाको कानमा पनि पुगेपछि २०७७ साउन १२ मा प्रबन्धबाट हटाएर मल्ललाई ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार