Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिव सरुवाले अन्तिम रुप नलिंदै हल्लाखल्ला, मन्त्री खाँणको नेतृत्वमा अघोषित कार्यदल


    बिहिबार, साउन १९ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सचिव सरुवा गरेको सनसनीपूर्ण समाचार बाहिरियो । अपूर्ण र अनुमानका भरमा समाचार सम्प्रेषणले झन् अन्योलता सृजना गरेको छ । आधिकारिक रुपमा सचिव सरुवाबारे कुनै जानकारी बाहिरिएको छैन । मन्त्रिपरिषद स्रोतका अनुसार आफैं बाहिरिन चाहेका अर्थमन्त्रालयका सचिव मधुप्रसाद मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको हो । बाँकीको हकमा अनुमानका भरमा समाचार आइरहेका छन् ।

    बिहीबार साँझसम्म सचिव सरुवाले आधिकारिकता पाइनसकेको स्रोतको भनाइ छ । स्वयं सरुवाको चर्चामा रहेका सचिवहरु समेत निर्णयका बारेमा अनभिज्ञता प्रकट गरिरहेका छन् । र, मुख्यसचिव शंकरदास बैरागीसँग सम्पर्क स्थापित गर्ने र पुष्टि गर्ने प्रयत्नमा छन् । मन्त्रिपरिषदका एक सदस्यका अनुसार चुनावको मिति घोषणासँगै सचिव सरुवाबारे मन्त्रिपरिषदमा छलफल भएको हो, छलफल हुनासाथ मन्त्रीहरुले आ आफ्नो मन्त्रालयमा लैजाने सचिवका बारेमा चासो राखेपछि उक्त छलफलले मूर्तरुप लिन नसकेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सचिव सरुवाका बारेमा मन्त्रीहरुको फरक फरक चासो रहेको पाएपछि यसबारे निर्णयमा पुग्नका लागि गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका मन्त्रीहरु पम्फा भूसाल र जनार्दन शर्मा, नेकपा समाजवादीका मन्त्री जीवनराम श्रेष्ठबीच छलफल गरी निर्णयमा पुग्न निर्देशन दिएको बुझिएको छ ।

     मुख्यसचिव बैरागीलाई यी मन्त्रीहरुसँग समन्वय गर्न लगाइएको छ । फरक फरक नाम सिफारिस हुन थालेपछि आजको मन्त्रिपरिषदले २ जना सचिवको बढुवा गर्ने निर्णय गरेको छ भने मरासिनीलाई अर्थबाट प्रधानमन्त्री कार्यालयमा लगिएको छ । अर्को ब्यवस्था नभएसम्म अर्थको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुस्कर कर्णले पाएका छन् । आधिकारिक रुपमा भएको निर्णय यही हो । तर बजार हल्ला भने सचिव सरुवा भएको र फलानो मन्त्रालयमा फलानो गएको भन्ने समाचार आइरहेका छन् । प्रधानमन्त्रीले जिम्मा दिएका मन्त्रीहरुबीच शुक्रबार छलफल हुने बताइए पनि सरुवाको चर्चामा रहेकाहरुको चर्को दौडधूप रहेका कारण शुक्रबारै माइन्यूटमा नाम मिलाउने संभावना कम छ । आइतबार वा सोमबारसम्म मात्रै सचिव सरुवा टुंगिने एक मन्त्रीले बताएका छन् ।

    राष्ट्रपति कार्यालयमा लामो समयसम्म कार्यरत तोयनारायण ज्ञवालीलाई उद्योगमा आएको चर्चाले बजार गर्माएको छ । उद्योगमा आउनका लागि आधा दर्जन भन्दा बढी सचिवले आकांक्षा राखेका थिए । प्रधानमन्त्री कार्यालयका सूर्यप्रसाद गौतमदेखि बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलासमेत आकाक्षी थिए । तर चर्चामै नरहेका ज्ञवालीको नाम आएपछि प्रतिस्पर्धीहरु नै चकित परेका छन् । गुल्मी घर भएका ज्ञवाली एमाले निकट सचिवका रुपमा चिनिन्छन् । शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा उनकै माग अनुसार प्रदेश लगिएका ज्ञवाली पोखरेलको चाहना हुन्जेल बुटवल छाडेनन् । पोखरेलकै अनुमतिले पछि सिंहरवार छिरेका ज्ञवालीले त्यसबेला पनि उद्योग बाणिज्यको नेतृत्व गर्न नचाहेका होइनन् । तर परिस्थितिले उनलाई साथ दिएन । उनी प्रधानमन्त्री कार्यालयमा केही समय रही राष्ट्रपति कार्यालयमा पुगेका थिए । 

    सहसचिव हुँदा बाणिज्य मन्त्रालयमा लामो समय काम गरेका ज्ञवाली बाणिज्य क्षेत्रको विज्ञका रुपमा चिनिन्छन् । उनी सचिव बढुवा लगत्तै लुम्बिनीको प्रमु्ख सचिवमा पुगेका हुन् । अहिले सुदूरपश्चिमका कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु उद्योग मन्त्री छन् । पार्टीगत निकटता र भेगीय हिसाबले पनि केही मिल्दैन । तर उनी उद्योगमा जाने चर्चा हुनुका पछाडि ज्ञवालीकै भेगका गृहमन्त्री बालकृष्ण खाँणले चाँजोपाँजो मिलाएको बुझिएको छ । आफ्नो मन्त्रालयमा गृहको ग पनि थाहा नभएका र शिक्षा मन्त्रालयमै जीवन बिताएका एसम्यान टेकनारायण पाण्डे छन् । गृहमा जानका एक दर्जन भन्दा बढी कांग्रेस निकट सचिवहरुको चाहना छ । तर खाँणले पाण्डेबाहेक अरुलाई ढिम्किन पनि दिएका छैनन् । अरुका मन्त्रालयमा भने आफ्नो भेगका सचिव ज्ञवालीलाई पठाउन प्रधानमन्त्रीलाई सहमत गराएको हुनसक्ने चर्चा छ । 

    ज्ञवाली अब्यवहारिक र कमजोर निर्णय क्षमता भएका सचिवका रुपमा चिनिन्छन् । मधेश प्रदेश सरकारको साइकल खरिद प्रकरणका सुरुवातकर्ता र निर्णयकर्ताका रुपमा रहेका उद्योग सचिव अर्जुनप्रसाद पोखरेल गृह, अर्थ र पर्यटन मन्त्रालयमा सरुवाका आकांक्षी हुन् । तर साइकल प्रकरणमा १० करोड भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएपछि पोखरेलको मुखमा आउनै लागेको आकर्षक मन्त्रालय गुम्ने खतरा छ । साइकल खरिदमा अख्तियारले उनलाई जोगाएर मुद्दा दायर गरे पनि नैतिक रुपमा उनी उम्किने ठाउँ छैन । त्यही बुझेर होला अहिले मन्त्रिपरिषदले उनलाई पनि उपयुक्त स्थानको खोजी पोखरेललाई लान खोजिरहेको छ । अझै पनि पोखरेल आफू अर्थको क्याडर भएको भन्दै त्यहाँ लगिदिनका लागि गृहमन्त्री खाँण र माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डलाई हारगुहार गरिरहेका छन् । 

    केही दिनअघि मात्र सरुवा भएका यादव कोइरालाको जागिर सकिन धेरै महिना बाँकी छैन । तर सरकारले उनलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अवकाश नदिने संकेत दिएको छ । संभवतः सचिव ज्ञवालीको ठाउँमा कोइरालालाई पठाउने संभावना देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी यस्ता भाग्यमानी सचिव बन्दैछन्, जसले सामान्यको महत्वपूर्ण छाडेर पर्यटन मन्त्रालय पाउँदैछन् । कम बोल्ने र सबै दल, नेता र नेतृत्वसँग समन्वयकारी भूमिका खेल्ने कारणले गर्दा धेरै मन्त्रीको रोजाइमा अधिकारी पर्ने गरेका छन् ।

    आर्थिक स्वार्थ नराखेकै कारण अधिकारी जस्तो सचिवले महत्वपूर्ण मन्त्रालय पाइरहँदा आफूलाई कांग्रेसको मसिहा ठान्ने सचिवहरु ‘लौ न मन्त्रालय चाहियो’ भन्दै सिंहदरवारस्थित कांग्रेसी मन्त्रीहरुको ढोका ढोका चाहारिरहेका छन् । उनीहरुको चाहनालाई बालृकष्ण खाँण नेतृत्वको अघोषित कार्यदलले कत्तिको सम्बोधन गर्ने हो हेर्न बाँकी छ । संचार मन्त्रालयका बैकुन्ठ अर्यालले पनि अर्थमा जान खुट्टा उचालिरहेका छन् । अर्याल सुपारी आयात खुलाउन सहमत नभएपछि बाणिज्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । हरिप्रसाद बस्यालले अवकाश पाएसँगै अर्याल संचार पुगेका हुन् ।

    सरुवा भएको एक बर्षपछि अर्याल अहिले अर्थको नेतृत्व लिन खोजिरहेका छन् । उनीका अर्थका क्याडर पनि हुन् । अर्याल बाहिरिन खोजेसँगै आफ्नो मन्त्रालयमा सचिव ल्याउनका लागि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकस परेको छ । त्यहाँ जानका लागि उस्तै घमासान प्रतिस्पर्धा छ । प्रदेशको प्रमुख सचिवदेखि लिएर सिंहदरवारभित्रकै सचिवले आँखा लगाएपछि कार्कि कसलाई ल्याउने भन्ने अन्यौलमा छन् । संचार माफियाहरु आफ्नो अनुकूलका सचिव ल्याउन उसैगरी लागेका छन् । र, मन्त्री कार्की भाइ ठेकेदार लोकेन्द्र कार्की र आइटीका माफिया विकल पौडेल पनि आफ्ना अनुकूलका सचिव खोजीमा छन् । सामान्यमा अधिकारी बाहिरिने चर्चासँगै जसपा अध्यक्ष उपेन्द्र यादव भित्री रुपमा आफ्नो अनुकूलको सचिवको खोजीमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार