काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर हुन् । तर मन्त्रालयका कुनै पनि काममा सचिव एकनारायण अर्यालले मन्त्री कुँवरसँग समन्वय नगरी एक्लौटी गर्न थालेका छन् ।
सचिव अर्यालले मन्त्रीलाई पूर्णतया असहयोग गरेको सूचना नेकपा समाजवादीका शीर्षनेतासमक्ष पनि पुगेको छ । मन्त्रीलाई थाहा समेत नदिई सचिव अर्यालले मन्त्रालयमा निर्णय गर्दैआएका छन् । सचिव अर्यालले एमालेका नेताको निर्देशन अनुसार नेकपा (एकीकृत समाजवादी)का मन्त्री कुँवरलाई असहयोग गर्ने नीति अपनाएका छन् ।
मन्त्री कुँवर गृहजिल्ला अछामसहित सुदूरपश्चिम गएको मौका छोपी केही दिनअघि सचिव अर्यालले उपसचिव विवेक घिमिरेलाई बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सरुवा गरेका छन् । उपसचिव घिमिरे खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए । अहिले पनि उनी ओलीको बालकोट दरबारमा दैनिक हाजिर लगाउने गर्दछन् । तिनै घिमिरेलाई सचिव अर्यालले मन्त्रीलाई जानकारी समेत नदिई बैदेशिक रोजगार कार्यालय काठमाडौंमा सरुवा गरेका हुन् । स्रोतका अनुसार खोटाङका घिमिरे सचिव अर्यालका नाताले ज्वाई समेत पर्दछन् ।
श्रम मन्त्रालयको कर्मचारी प्रशासनका कर्मचारीले उपसचिवको सरुवा गर्दा मन्त्रीलाई सोध्नुपर्छ कि भन्दा सचिव अर्यालले ‘मैले भनेपछि किन सोध्नुपरयो ? खुरुखुरु सरुवाको पत्र बनाउनू’ भनेर हप्काएका थिए ।
केपी ओलीका पीए कसरी त्यति महत्वपूर्ण ठाउँमा कसरी सेटिङ गरेर गए भनेर नेकपा समाजवादी निकट कर्मचारीहरु नै आश्चर्यचकित छन् । यसअघि एमालेनिकट कर्मचारी नेता देवेन्द्र ढकाललाई बैदेशिक रोजगार विभाग अन्तर्गत सबैभन्दा बढी घुस असुली हुने ठाउँमा सरुवा गरिएको थियो । उनी कुस्त कमाइ गरी केही समयअघि सरुवा भएका थिए । नेकपा समाजवादीलाई भित्रभित्रै खोक्रो पार्ने र नेतासँग चोचोमोचो जोड्दै लाभ लिन पल्केका कर्मचारी नेताहरुलाई आर्थिक प्रलोभन दिंदै एमालेका त्यसमा पनि ओलीका निकटहरु श्रम मन्त्रालय अन्तर्गत महत्वपूर्ण ठाउँमा सरुवा हुन थालेपछि एकीकृत कर्मचारी संगठनभित्रै यो बिषयले चर्को रुप लिएको छ ।
सचिव अर्यालले यसअघिका श्रम मन्त्री किसान श्रेष्ठसँग मिलेर मलेसियामा कामदार पठाउनका लागि २५ वटा म्यानपावरलाई मात्र दिनेगरी सिन्डीकेट गर्न खोजेका थिए । त्यसमा स्वास्थ्य ब्यवसायमा सिन्डीकेट खडा गरी गरिब कामदारबाट अरबौं रकम असुली गरेका र करसमेत छली गरेका कैलाश खड्कामार्फत् अमिनसँग डिल गरेका थिए ।
सचिव अर्यालले मन्त्री कुँवरलाई चारैतिर घेराबन्दी गरेका छन् । बैदेशिक रोजगार विभागको महानिर्देशकमा पनि अर्यालले आफ्नै निकट सहसचिव शेषनारायण पौडेललाई महानिर्देशक बनाएका छन् ।