Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तकोसीमात्र होइन धार परिवर्तन गर्दै अन्य नदी


    बिहिबार, साउन १९ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।

    मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उनले भने, “नारायणीको ठूलै भँगालो पसेपछि बस्तीपट्टि नआओस् भनेर चारवटा स्पर तत्काल निर्माण गरियो र नारायणीलाई रोकियो।” पोहोर बस्ती छिर्न खोजेकाले यसपालि पनि त्यो क्षेत्रमा सम्भावित बहाव परिवर्तन हुनसक्ने भएकाले निगरानी बढाइएको उनले बताए। 

    नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। नेपाल–भारत गण्डक बाँधपछिको पश्चिम क्षेत्रमा नारायणीले बारम्बार धार परिवर्तन गरेर नेपाली भूभागमा प्रवेश गर्ने क्रम निरन्तर छ। नदी छेक्न बनाइएको स्परको मर्मतसम्भार समयमा नहुँदा स्थानीयवासीको घरबारसँगै खेतबाली नष्ट हुने गरेको गुनासो बढ्दो छ।

    गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे। यस वर्ष पनि ती क्षेत्र जलमग्न छन्। पश्चिम र सुदूरपश्चिम नेपालको कर्णाली र महाकालीको बहाव परिवर्तनले पनि बारम्बार बाढी, डुबानजस्ता विपत्को समस्या बढाएको छ। महाकाली नदी बीच पारेर नेपालको दार्चुलाको पारिपट्टि भारतको धार्चुलामा यतिखेर बाँध निर्माण भइरहेको छ। त्यसको असर महाकालीको बहावमा गत वर्षदेखि नै पर्न सुरु गरेको छ। 

    गत वर्षको वर्षामा महाकाली सदरमुकाम पसेपछि हाहाकार मच्चिएको थियो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, “तत्काल बाँध बाँधेर सहर जोगाइयो, तर उता पनि बाँध बाँधेपछि बहाव बढ्दा नदीको धार कता जान्छ भन्ने पिरलो उत्तिकै छ।” 

    सदरमुकाम जोगाउनकै लागि चार किलोमिटर बाँध कोरिडोरका रूपमा निर्माण गरिएको छ। महाकालीको बहाव व्यवस्थित नहुँदा दोधारा–चाँदनी क्षेत्र हरेक वर्ष डुबानमा पर्छ। कर्णालीले टीकापुर क्षेत्र जहिल्यै डुबाउने गरेको छ। आजको गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार