काठमाडौं । नेपाल प्रहरीले डीएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य परेको हो ।
व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर पारेको थियो । सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ती बुट खरिद गरेर जिल्ला–जिल्लामा पठाइएको थियो ।
१३ करोड ५० लाख रूपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ । ‘अहिले आएका बुटको गुणस्तर निकै कमजोर रहेको छ, घामपानीमा उप्किने खालको छ, यही बुट लिएर बजारमा किन्न जाँदा १४ सयदेखि १५ सय रूपैयाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई २ हजार ६ सय ५० रूपैयाँ तिरेको छ । जसले गर्दा आधाभन्दा बढी रकम अपचलन भएको बुझिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आजको नागरिक दैनिकमा समाचार छ ।