Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीयले यसरी लिन्छन् नेपाली नागरिकता


    मंगलबार, साउन १७ २०७९
    970
    Shares
  • ७ मिनेट पाठ
  • काठमाडौं । २०४६ साल मंसिर ९ गते भारतीय नागरिक गणेश साह तेलीले आफ्नो कुनै जग्गा घर वा सम्पत्ति नै नभएको साविक मधुवन पञ्चायत वडा नम्बर ४ बाट जन्मसिद्ध नागरिकता लिएका थिए । 

    तेलीको भारतमा घरजग्गा, आइडी, भोटर लिष्टमा नामसमेत छ । उनका छोराहरु सन्तोषकुमार साह तेली, सन्जितकुमार साह तेली र राजकुमार साह तेलीले बंशजको नागरिकता लिएका छन् । गणेश साह तेली र उनका तीन छोराहरु भारतको नागरिक भएको भनेर हालै ग्राम पञ्चायत राज पश्चिमी संग्रामपुरका मुखिया जितेन्द्ररामले प्रमाणित गरेको पत्रमा उल्लेख गरिएको छ । गणेश साह तेली संग्रामपुर मठिया पोन थाना संग्रामपुर पञ्चायत पश्चिमी संग्रामपुर (इजरा) प्रखण्ड संग्रामपुर वडा नम्बर ४ जिल्ला चम्पारण बिहारका हुन् ।

    गणेशले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा न्यू साह ट्रेडिङ कन्सर्न र हिरा इँटा उद्योग सञ्चालन गर्दै आएका छन् । यसरी गणेश साहका श्रीमती र छोराहरुको नाममा अहिले पनि घर जग्गाहरु भारतमा रहेको सप्रमाण उजुरीमा उल्लेख गरिएको छ । तेलीको भारतको रक्सौलमा समेत एउटा घर रहेको उजुरीमा स्पष्टसँग खुलाइएको छ ।

     गणेश साह तेलीले पर्सा जिल्लाको तत्कालीन मधुवन गाउँ पञ्चायत–४ बाट नागरिकता प्रमाणपत्र नम्बर ५८९४१४०७ जन्मसिद्ध नागरिकता लिएतापनि उनकी श्रीमती अहिले पनि भारतीय नागरिक नै छन् । छोराहरु सन्तोषकुमार साह तेलीले उही ठेगानाबाट नागरिकता प्रमाणपत्र नम्बर ५३८२३६ को बंशजको नागरिकता लिएका छन् । गणेशप्रसाद साह तेलीका जेठा छोरा सन्तोषकुमार साहले नागरिकता प्रमाणपत्र नम्बर ५३८२३६ को बंशजको नागरिकता लिएका छन् । 

    माहिला छोरा सन्जितकुमार साह तेलीले प्रमाण पत्र नम्बर ३४–०१–६९–००७२१ को बंशजको नागरिकता र कान्छा छोरा राजनकुमार साह तेलीले नागरिकता प्रमाणपत्र नम्बर १५८४१६२० को बंशजकै नागरिकता लिएका हुन् ।
    भारतीय नागरिकता त्याग नगरी दाहोरो नागरिकता लिन नागरिकता ऐन २०६३ ले बर्जित गरेको छ । यसरी नागरिकता सम्बन्धी ऐन २०६३ को दफा ११ को कसुर बमोजिम कार्य गरेको भन्दै गणेश साह तेलीका बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सहोदर दाजु ब्यासप्रसाद साहले २०७९ असार २० गते २१८२ दर्ता नम्बरको उजुरी दर्ता गराएका छन् ।

    त्यसैले गणेश साहका सहोदर खाजु ब्यासप्रसाद साहले भाइ गणेश भारतीय नागरिक भएको हुँदा उनका छोराहरु सन्तोषकुमार साह तेली, सन्जितकुमार साह तेली र राजकुमार साह तेलीको नागरिकता खारेज गरी कानून बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका छन् । गणेश र उनका छोराहरुको नाममा भारतमा भएका घर जग्गाका पूर्ण विवरणसहित उजुरीमा सप्रमाण पेश गरिएको छ । साथै मतदाता प्रमाणपत्रको फोटोकपी, सम्पत्तिका दस्तावेजहरु, नेपाली नागरिकताका फोटोकपीहरु समेत संलग्न गरिएको छ ।

    नेपालमा २०४७ सालको संविधानमा होस् वा २०६३ सालको अन्तरिम संविधान र संविधानसभाबाट निर्मित २०७२ सालको संविधानले विदेशी नागरिकलाई नागरिकता दिने विषयमा एकदमै नरम नीति अपनाएको छ । जसका कारण झण्डै १ करोड भारतीय नागरिक नेपालको नागकिता लिन सफल भएको अनुमान गरिएको छ ।

    २०६३ पछि टोलीले बितरण नागरिकता गर्ने क्रममा अधिकांश नक्कली कागजात प्रयोग गरिएका छन् । तीन जना स्थानीय नागरिकले सिफारिस गरेपछि नागरिकता दिने जस्ता विवादस्पद निर्णय गरेका कारण नेपाली फिजीकरणको दिशामा उन्मुख छ । तर, ७० हजार युवा रोजगारको खोजीमा विदेश पठाएका कारण शासकहरुलाई भने हाइसञ्चो भएको छ ।

    झुट्टो विवरण पेश गरी नागरिकता लिनेहरुलाई के सजाय हुन्छ ?

    नेपालको नागरिकता ऐन २०६३ को दफा २१ को दण्ड सजायमा भनिएको छः

    १. कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागकिता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ । झुटो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

    २. कुनै विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने ब्यक्तिलाई ६ महिनादेखि ३ बर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

    ३. कसैले नेपाली नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो काय गर्ने, गराउने व्यक्तिलाई १ बर्षदेखि ५ वर्षसम्म कैद वा २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

    ४. कसैले सक्कल नागरिकता प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्चाएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्छ ।

    ५. दफा १२ बमोजिम झुटो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्चाइएको विवरण झुटो प्रमाणित भएमा त्यस्तो झुटो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा त्यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कसुर गर्ने गराउने व्यक्तिलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

    ६. नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी जानी वा बद्नियत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम बिपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रमा विवरण सच्चाएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुनेछ ।

    ७. उपदफा (१),(२) र (३) अन्तर्गत सजाय हुने कसुर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोहि उपदफामा तोकिएको सजायमा आधा सजाय हुनेछ ।

    के भन्छन् पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल ?

    जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले नागरिकता सम्बन्धी उजुरीहरु मुद्दाफाँटमा हुने भनेर उम्किएका छन् । तर, प्रमुख जिल्ला अधिकारी उमेश ढकालसँग प्रतिक्रिया माग्दा उनले फोन उठाएनन् । डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार