Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डीएसपीकै निर्देशनमा अपहरणः चितवन प्रहरीको सक्रियतामा मुक्त 


    सोमबार, साउन १६ २०७९
    660
    Shares
  • ४ मिनेट पाठ
  • पाल्पा, रामपुर । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका डीएसपीकै निर्देशनमा एक ब्यक्तिको अपहरण भएको छ । इलाका प्रहरी कार्यालयका डीएसपी हेम केसीकै निर्देशनमा आसिन सेखसहितका तीन जनाले चितवनबाट आइतबार दयाराम वस्तीको अपहरण गरेको आरोप लागेको छ । चितवन प्रहरीको सक्रियतामा वस्तीलाई परासी र पाल्पाको सीमा डेढगाउँबाट सोमबार मुक्त गरिएको छ ।  

     रामपुर नगरपालिका इस्लामपुरका आसिन सेखसहितका तीन ब्यक्तिले आइतबार चितवनबाट वस्तीलाई अपहरण गरी भ्यानमा हाली अज्ञातस्थलतिर लगेका थिए । अपहरणपछि उनकी श्रीमती मालिका ढकाललाई फोन गरिएको थियो । वस्तीकी श्रीमतीलाई फोन गरी ‘तिम्रो श्रीमान आफूहरुसँग भएकाले यति रकम लिएर आउनू’ भने । श्रीमती मालिकालाई सुरुमा गैंडाकोटमा बोलाए, त्यसपछि कावासोतीमा बोलाए । कावासोतीमा जाँदा पनि नभेटिएपछि वस्तीकी श्रीमती मालिकाले चितवन प्रहरी गुहारिन् ।

    चितवन प्रहरीले आसिन सेखसहितका ब्यक्तिको मोवाइल लोकेसन ट्रयाक गरी जंगलै जंगल रामपुर लान लागेको अवस्थामा डेढगाउँमा फेलापारेको थियो । डेढगाउँबाट चितवनमा ल्याउनका लागि पहिरो गएकाले प्रहरीले सोमबार वस्ती र उनलाई अपहरण गर्ने आसिन सेखहरुलाई चितवन ल्याउन सकेको छैन । 

    डीएसपीकै निर्देशनमा अपहरण

    दयाराम वस्ती रामपुरकै वासिन्दा हुन् । उनी त्यहाँ कन्सलटेन्सी संचालन गर्थे । आसिन सेखसँग वस्तीको लेनदेन थियो । यसबीचमा उनी रामपुरमा भन्दा बढी चितवनमा बस्न थाले । वस्तीसँग लेनदेन भएको कुरा आसिनले डीएसपी केसीसँग राखे । डीएसपी केसीेले आसिन सेखलाई वस्तीलाई चितवनबाट रामपुर ल्याएमा थुनामा राखी पैसा असुली गर्ने आश्वासन दिएका थिए । डीएसपीको संकेतपछि नै आसिन सेख ३ जना साथमा लिई चितवन गए । २ दिनसम्म वस्तीको बस्ने ठेगाना खोजी गरे । र, साला सँगै भए पनि भिनाजु दयराम बस्तीलाई दक्षिण भारतको हिन्दी सिनेमामा झैं भ्यानमा हाली आसिन सेखको टोलीले लिएर गएको थियो ।

    श्रीमती मालिकालाई कहिले गैंडाकोट त कहिले परासीमा बोलाइयो । तर उनलाई बोलाइएको ठाउँमा आसिनहरु भेटिएनन् । चितवन प्रहरीको सहयोगमा भरतलाई अपहरणमुक्त गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीले वस्तीलाई डेढगाउँबाट उद्दार गरिएको बताए । वस्तीकी श्रीमतीले अपहरण गरेको मौखिक उजुरीपछि प्रहरीले सहयोग गरी उद्दार गरेको उनले बताएका छन् ।

    प्रहरीले नै उद्दार गरे पनि एसपी अधिकारीले अपहरण नै भन्न पनि मिलेन भने । जबर्जस्ती भ्यानमा हालेर लानु अपहरण होइन र भन्ने जिज्ञासामा उनले भने–रामपुरमै कन्सलटेन्सी ब्यवसाय गर्ने भरत वस्तीको ब्यवहार बिग्रेको र आसिन सेखहरुसँग लेनदेन थियो । लेनदेन नमिलाई चितवनस्थित ससुरालीमा बस्न थालेपछि उनीहरु आएर ब्यवहार मिलाउन आग्रह गरेको र नमिलेपछि भ्यानमा हालेर रामपुरमा लान खोजेको देखिन्छ, सोमबार राति एसपी अधिकारीले भने– म कोभिड संक्रमित भएर आइसोलेसनमा छु, भोलि दुवै पक्ष राखेर छलफल गराउन भनेको छु । थप जानकारी त्यसपछि दिनेछौं ।’

    वस्तीकी श्रीमती मालिकाले दिएको अपहरण तथा शरीर बन्धकको जाहेरी समेत चितवन प्रहरीले दर्ता गरेको छैन । एसपी अधिकारीले जाहेरी दर्ता नभएको स्वीकार गरेका छन् । 

    रामपुर इलाका प्रहरी कार्यालयका डीएसपी केसीलाई दयाराम बस्तीको अपहरणका बारेमा प्रतिक्रिया लिन फोन गर्दा उनले यसबारेमा आफूलाई केही थाहा नभएको भन्दै फोन नै सम्पर्क बिच्छेद गरेका छन् । पुनः सम्पर्क गर्दा पनि उनले रिसिभ गरेनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार