Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सामग्री खरिद प्रकरणः छानबिनको माग गर्दै अख्तियारमा उजुरी


    सोमबार, साउन १६ २०७९
    1.5K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्वास्थ्य व्यवसायी संघले आइतबार अख्तियारमा उजुरी दिएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषी उपर कडा कारवाही गर्न माग गरिएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत आपूर्ति ब्यवस्था शाखाबाट औषधि र उपकरण खरिदमा भएको भ्रष्टाचारको छानबिनको माग गर्दै संघले उजुरी दिएको हो ।

    स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट भइरहेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाउपर आयोगले तत्काल छानबिन गरी सत्य तथ्य उजागर गर्दै दोषी उपर कडा कारवाही गर्न संघले माग गरेको छ । साथै स्वास्थ्य व्यवासायी संघले राज्यकोषबाट हुने कुनै पनि स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरीय एवं मितव्ययी बनाउन आवश्यक नीतिनियम तर्जुमा गर्न समेत आग्रह गरेको छ । 

    यसअघि आइतबार नै संघले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिलाई स्वास्थ्य मन्त्रालय मातहत रहेका स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग तथा देशभरका स्वास्थ्य संस्थाबाट खरिद भइरहेका स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार भइरहेको समाचारहरु आइरहेको भन्दै संघले समितिको ध्यानाकर्षण गराएको  थियो । 

    स्वास्थ्य सेवा विभागले खरिद गरेको स्वास्थ्य सामाग्रीमा ४१ करोड भन्दा बढी घोटाला भएको भन्ने समाचार पछिल्लो केही दिनयता लगातार मिडियामा समाचार आइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका बारेमा छानबिन समिति बनाउने  र पारदर्शीता अपनाउनुपर्ने पक्षमा छन् । उनले छानबिन समिति बनाउनका लागि पटक पटक भन्दा पनि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ र सचिव डा. रोशन पोखरेलले आलटाल गर्दैआएका छन् ।

    स्वास्थ्य सामग्रीको खरिदमा सेटिङ गर्दैआएका आपूर्ति ब्यवस्था शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया र ब्यापारी विशाल पण्डित र पोष्टराज ज्ञवालीले मन्त्री र सचिवलाई समेत प्रभावमा राखेकाले छानबिन समिति गठन हुन नसकेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार