स्वास्थ्यको उपकरण र औषधि खरिदमा ओम्नीभन्दा ठूलो भ्रष्टाचारः मन्त्री र सचिव मौन, राज्यमन्त्रीको एक्सन
मंगलबार, साउन १० २०७९
1.3K
Shares
६ मिनेट पाठ
1.3K
सेयर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपूर्ति ब्यवस्थापन केन्द्रले उपकरण र औषधि खरिदका क्रममा करोडौं घोटाला भएको तथ्य फेलापरेको छ । कोभिड–१९ को समयमा ओम्नी समूहले स्वास्थ्य सामग्री खरिदका क्रममा गरेको घोटाला भन्दा ठूलो घोटाला गएको आर्थिक बर्षमा स्वास्थ्य सामग्री खरिदमा भएको छ । यसैहप्ता मिडियामा स्वास्थ्य सामग्री (उपकरण र औषधि) खरिदमा भएको ठूलो घोटालाबारे समाचार आएपछि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले आपूर्ति ब्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई १२ घन्टे पूर्जी काटी मन्त्रालयमा उपस्थित हुनका लागि पत्र पठाएका छन् । मंगलबार उनले पत्र पठाएका थिए । चौरसियालाई मंगलबार ५ बजेभित्र उपस्थित हुनू भनेको भए पनि ४ बजे नै हस्याङफस्याङ गर्दै पुगेको स्रोतले बताएको छ ।
दस अर्ब रुपैयाँको उपकरण तथा औषधि खरिदमा ५ करोड घुस लिएकोबारेमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले चौरसियालाई उपस्थित हुन पूर्जी काटेका थिए । तर आपूर्ति शाखाले लागत स्टीमेट नै कम्पनीको दररेट भन्दा चार गुणा बढाएर बनाइएको फेलापरेको छ । बिशाल पण्डितको हस्पिटेकबाट लिइएका उपकरणहरुको केही बिबरण प्राप्त भएको छ । पण्डितको हस्पिटेकबाट ७३ करोडको स्वास्थ्य सामग्री आपूर्ति गर्दा कम्पनीको दररेट भन्दा ४१ करोड महँगो दरमा लिइएको छ ।
२० प्रतिशत मुनाफा लिन पाउने प्रचलित कानुनमा ब्यवस्था भए पनि त्यो भन्दा बढी लिनेलाई कालोबजारी ऐन अनुसार कारबाही गरिने र भ्रष्टाचार मानिने ब्यवस्था छ । तर आपूर्ति शाखाले हस्पिटेकबाट उत्पादन मूल्यभन्दा ३ सय गुणा बढीमा उपकरण खरिद गरेको तथ्य प्राप्त भएको छ । स्रोतका अनुसार पोर्टबेल अल्ट्रासाउन्ड १७८ वटा खरिद गर्दा कम्पनी मूल्य जम्माजम्मी ८ करोड पर्नेमा २८ करोडमा खरिद गरिएको छ । डीआर एक्सरे मेसिन ९ वटाको कम्पनी मूल्य ६ करोड ७५ लाख पर्नेमा १३ करोड ५० लाखमा खरिद गरेको आपूर्ति शाखाले एफडी एक्सरे मेसिन १३ वटाको ३ करोड ९० लाख कम्पनी मूल्य भए पनि ६ करोड ८० लाखमा हस्पिटेकसँग लिएको छ ।
त्यसैगरी हेमोडायलासिस मेसिन १३० वटाको कम्पनी मूल्य ११ करोड ७० लाख हुन आउँछ । जसलाई २० करोड ८० लाखमा खर्च गरिएको छ । पल्स अक्सिमिटर १ हजार थानको ४५ लाख कम्पनी मूल्य रहेको छ । जसलाई १ करोड ६० लाखमा खरिद गरिएको छ । बीपी सेट १ हजार थान खरिदमा कम्पनी मूल्य २५ लाख पर्ने भएता पनि ९० लाख रुपैयाँमा किनिएको छ । (हेर्नुहोस् टेबुल)
एक उपभोक्ता अधिकारकर्मीले भने–कम्पनी मूल्यभन्दा ४ सय गुणा बढी मूल्यमा खरिद गर्नु यो भन्दा कालोबजारी र भ्रष्टाचारको नमूना के हुन्छ ? यो त एउटा आंशिक विवरण मात्र भएको र खरिदमा आपूर्ति शाखाले गरेको अन्य विवरण खोजी गर्ने हो भने कहालीलाग्दो भ्रष्टाचार भेटिने मन्त्रालयका एक अधिकारीले बताए । १० अर्बको बजेटमा ७३ करोडको विवरण मात्र हो । बाँकी ९ अर्बको स्वास्थ्य सामग्री खरिदमा पनि आपूर्ति शाखाबाट यही शैलीमा घोटाला गरिएकाले सरोकारवाला निकायले छानबिन गरेमा ओम्नीप्रकरण भन्दा अरबकै अंकंमा भ्रष्टाचार फेलापर्ने स्वास्थ्यका अधिकारी बताउँछन् ।
आपूर्ति शाखाबाट खरिद गरिएको उपकरणको कम्पनी मूल्य र खरिद गरिएको मूल्य
आपूर्तिमा घुमिफिरी चौरसिया नै किन ?
आपूर्ति ब्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया दोस्रो पटक त्यहाँ गएका हुन् । उपकरण र औषधि आपूर्तिकर्ता विशाल पण्डित र पोष्टराज ज्ञवालीले पूर्वमन्त्री बिरोध खतिवडासँग सेटिङ गरी उनलाई आपूर्ति शाखाको प्रमुख बनाएका हुन् । उनले आपूर्ति शाखाको प्रमुख भइसकेपछि पण्डितको हस्पिटेक इन्टरप्राइजेज र ज्ञवालीको लुम्बिनी हेल्थ केयरसँग मात्र ८० प्रतिशत स्वास्थ्य सामग्री खरिद गरेका छन् ।
अरबौंको उपकरण र औषधि खरिदमा भएको अनियमिततामा राज्यमन्त्री केसीले चासो र चिन्ता प्रकट गरेका छन् । तर यति ठू्रलो भ्रष्टाचारमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ, सचिव डा. रोशन पोखरेल र महानिर्देशक दीपेन्द्ररमण सिंह मौन रहनुले यो प्रकरणमा उनीहरुको संलग्नतालाई इन्कार गर्नसक्ने ठाउँ नभएको स्वास्थ्यकै अधिकारी बताउँछन् । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँग प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।
यसबारेमा आपूर्ति शााखाका प्रमुख डा चौरसियासँग हामीले प्रतिmक्रियाको लागि सम्पर्क गरेका थियौं । तर उनले पटक पटक प्रयास गर्दा पनि भेट दिएनन् । र, मोवाइल पनि रिसिभ गरेनन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकमा डा. आरपी बिच्छा रहँदा हरेक प्रकरणमा उनको आलोचना गर्नेहरु सिंह महानिर्देशक बनेपछि मौन हुनुले पनि दीपेन्द्ररमणसँग बिचौलियाहरुको साँठगाँठलाई पुष्टि गर्दछ । डा. बिच्छालाई प्रधानमन्त्री पत्नी आरजु राणा र तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मात्रै कुरा सुनेर निर्णय लिने भनेर आरोप लागेको थियो । अहिलेका महानिर्देशक गएपछि अरबौंको खरिद प्रक्रियामा संलग्न भएका छन् । तर उनलाई उपकरण र औषधि खरिदका बिचौलियाहरुले नै जोगाउनका लागि मन्त्री, सचिव र पार्टीका नेताहरुलाई सेटिङ गर्ने गरेको आरोप छ । मन्त्रालयका सचिव र महानिर्देशकको संकेत विना अरबौंको खरिदमा चलखेल हुन सक्ने संभावना नै न्यून हुन्छ ।