Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यको आपूर्ति शाखामा सेटिङ, १० अर्बको उपकरण र औषधिको ठेक्कामा पण्डित र ज्ञवालीको कब्जा


    मंगलबार, साउन १० २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका औषधिदेखि उपकरण खरिद र मर्मतको ठेक्का सेटिङमा भएको छ । स्वास्थ्य सेवा विभाग, ब्यवस्थापन महाशाखा मातहतमा रहेको आपूर्ति ब्यवस्थापन शाखाले औषधि र उपकरण खरिद गर्ने गरेको छ ।

    संघीयता लागू भएपछि ब्यवस्थापन महाशाखा मातहतमा रहेको आपूर्ति ब्यवस्थापन शाखाले औषधिदेखि उपकरण खरिद गर्दैआएको छ । सो शाखाको प्रमुखमा औषधि र उपकरणका कारोबारीहरुले आफूअनुकूल पात्र लाने गरेका छन् । उनीहरुकै चाहनामा डा. सुरेन्द्र चौरसिया दोस्रो पटक उक्त शाखाको प्रमुखमा लगिएका हुन् ।

    ब्यापारीहरुको हितमा काम गर्ने सर्त मानेपछि एक महिनाअघि राजीनामा दिएका मन्त्री बिरोध खतिवडाले डा. सुरेन्द्र चौरसियालाई आपूर्ति शाखाको प्रमुख बनाएका थिए । त्यसबेला ब्यापारीहरुले चौरसियालाई प्रमुख बनाउन मन्त्री खतिवडालाई समेत मोटो भेटी बुझाएको स्रोत बताउँछ । 

    चौरसिया त्यहाँ रहँदा राज्यको ढुकुटीमा ब्यापारी पोस्ने, आफूले लाभ लिने र त्यसको हिस्सा माथिल्लो तहमा बुझाउँदैआएका छन् । दोहोर्याएर शाखा प्रमुख बनेका चौरसियाले अनियमितता गरी करोडौं कमाएको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत बेखबर जस्तै छ । उनले सहकर्मीहरुलाई भन्ने गरेका छन्–आखिर अख्तियारमा पनि मानिस छन्, उनीहरुलाई पनि मिलाउन जान्नुपर्छ, त्यो म गरेकै छु् भन्दै सवैधानिक निकायको समेत बदनाम गर्ने गरेका छन् । सामान्य पृष्ठभूमिका चौरसियालाई आपूर्ति शाखा खुबै फापेको छ ।

    कार्यक्षमतामा कमजोर भए पनि कमाउधन्दामा भने उनी अब्बल मानिन्छन् । अहिले चौरसियाका लागि महाशाखा प्रमुख डा. रुद्र मरासिनी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण ंिसंह, सचिव डा. रोशन पोखरेल र विभागीय मन्त्रीसमेत नतमस्तक छन् । 

    किनकि उनीहरुले चौरसियाबाट नियमित रुपमा शुभलाभ प्राप्त गरिनै रहेका छन् । चौरसियाले करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिदको प्रक्रिया पूरा गरेका छन् । जसमा ५ करोड भन्दा बढी घुसको कारोबार भएको स्वास्थ्य सेवा विभागमा चर्चा छ । लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई औषधि र उपकरणको ८० प्रतिशत ठेक्का दिलाउन चौरसिया सफल भएका छन् । 

    लुम्बिनीका पोष्टराज ज्ञवाली र हस्पिटेकका बिशाल पण्डितसँग चौरसियाको विगतदेखिकै कनेक्सन रहँदैआएको छ । जसले गर्दा आपूर्तिका अधिकांश खरिद यिनै दुई कम्पनीले पाउँदैआएका छन् । कमिसनको डिल बिशाल पण्डितको होटल बसेरा बबरमहलमा हुने गरेको छ । जहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र सुरेन्द्र चौरसियाका लागि एउटा कोठा छुट्टै ब्यवस्था गरिएको छ । पण्डितले स्वास्थ्यका उपकरण खरिददेखि मर्मतमा अर्बौको सेटिङमा सहजीकरणका लागि स्वास्थ्य सचिव पोखरेलका लागि भनेर स्वीट रुम नै निःशुल्क सधैं ब्यवस्था गरिदिएका छन् । जहाँ स्वास्थ्यका आपूर्ति शाखादेखि सरुवामा मोलतोल र सेटिङ हुने गरेको छ ।

    बसेरा होटलका सीसी क्यामराको फुटेज मगाएर हेर्ने हो भने चौरसियाको ओहोर दोहोर छर्लङ्ग हुन्छ । स्रोत भन्छ, चौरसियाले आपूर्ति शाखामा सरुवा भएपछि कमिसनको दररेट निर्धारण गरेका छन् । जसमा ०.५ प्रतिशत आफूलाई भनेर लिन गर्दछन् भने थप माथि दिनुपर्छ भनेर ०.३५ प्रतिशत छुट्याउन लगाउँछन् । जबकि उनले निर्धारण गरेको दररेटमा मन्त्रालयका लागि ०.१५ प्रतिशत छुट्याउने गरिएको छ । सम्बन्धित महाशाखा (बजेट परिचालन गर्ने) प्रमुखलाई ०.७५ प्रतिशत छुट्याउने गरिएको छ । महानिर्देशक दीपेन्द्ररमण सिंहले चौरसियाले छुट्याइदिएको ०.८ प्रतिशत नियमित रुपमा बुझ्दैआएका छन् ।

    चौरसियाले आफ्नै हाकिम मरासिनीलाई भने ०.८ प्रतिशत, लेखा शाखालाई समग्र रुपमा १.२५ प्रतिशत कमिसनको दररेट निर्धारण गरिएको छ । कानुन शाखाले पनि ०.२५ प्रतिशत कमिसन पाउने गरेको छ ।समग्रमा ५ देखि ६ प्रतिशत कमिसन औषधि र उपकरण खरिदकर्ताले चौरसियामार्फत् बुझाउँदैआएका छन् । प्रतिस्पर्धा गरी टेण्डर पारेका खरिदकर्ताहरुलाई चौरसियाको दररेट बुझाउन अतिरिक्त ५ प्रतिशत छुट्टै छुट्याउनुपर्ने बाध्यता छ ।

    टेण्डर प्रक्रियामा ब्यवसायीहरुले सार्वजनिक खरिद ऐनको पालना गरी बोलपत्रमा भाग लिंदैआएको भए पनि चौरसियाले कायम गरेको दररेट भने कुन निकायबाट स्वीकृत भएको हो ? आपूर्तिकर्ताहरुले नछुट्याए औषधि र उपकरणमा एउटा न एउटा कमजोरी पत्ता लगाई दुःख दिने र भुक्तानीमा बिलम्ब गर्ने जस्ता झन्झट सृजना गर्ने गरेका छन् । चौरसियाले सेटिङमा सहज गराउन आपूर्ति शाखामा बायोमेडिकल इन्जीनीयर पनि पदमा मिश्र लगायतका आफूले भनेको मान्नेहरुलाई नै राखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार